YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 8:1-12

उत्‍पत्ति 8:1-12 NNRV

तर परमेश्‍वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्‍झनुभयो, अनि उहाँले पृथ्‍वीमा बतास चलाइदिनुभयो, र पानी घट्‌न लाग्‍यो। अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्‍द गरियो। अनि पानी पृथ्‍वीमा लगातार घट्‌दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। दशौँ महिनासम्‍म पानी लगातार घट्‌दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे। चालीस दिनपछि आफूले बनाएको जहाजको झ्‍याल नोआले खोले, र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्‍जेल त्‍यो काग यताउता उड़िरह्यो। तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। त्‍यस ढुकुरले आफ्‍ना खुट्टा टेक्‍ने ठाउँ नपाएकोले त्‍यो तिनीकहाँ नै जहाजमा फर्क्‍यो, किनभने पृथ्‍वीमा अझै पानी थियो। तब तिनले आफ्‍नो हात पसारेर त्‍यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्‍याए। अरू सात दिन पर्खेर तिनले फेरि त्‍यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। त्‍यो ढुकुर साँझमा तिनीकहाँ फर्क्‍यो। त्‍यसको चुच्‍चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्‍ने नोआले थाहा पाए। तब तिनले अरू सात दिन पर्खेर त्‍यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्‍यो तिनीकहाँ फर्केर आएन।