उत्पत्ति 8:1-12
उत्पत्ति 8:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरले नोआ र तिनीसँग जहाजमा भएका सबै वन-पशु र पालिने पशुहरूलाई सम्झनुभयो, अनि उहाँले पृथ्वीमा बतास चलाइदिनुभयो, र पानी घट्न लाग्यो। अगाधका मूलहरू र आकाशका द्वारहरू थुनिए र आकाशबाट पानी बन्द गरियो। अनि पानी पृथ्वीमा लगातार घट्दैगयो। एक सय पचास दिन बितेपछि पानी घट्यो। सातौँ महिनाको सत्रौँ दिनमा जहाज आरारातका पहाड़हरूमा अड़ियो। दशौँ महिनासम्म पानी लगातार घट्दैगयो। दशौँ महिनाको पहिलो दिनमा डाँड़ाहरूका टाकुरा देखा परे। चालीस दिनपछि आफूले बनाएको जहाजको झ्याल नोआले खोले, र एउटा कागलाई उड़ाइदिए, अनि जमिनको पानी नसुकुञ्जेल त्यो काग यताउता उड़िरह्यो। तब नोआले जमिनमा पानी घट्यो कि भनी हेर्न एउटा ढुकुर पनि उड़ाइदिए। त्यस ढुकुरले आफ्ना खुट्टा टेक्ने ठाउँ नपाएकोले त्यो तिनीकहाँ नै जहाजमा फर्क्यो, किनभने पृथ्वीमा अझै पानी थियो। तब तिनले आफ्नो हात पसारेर त्यस ढुकुरलाई समाती आफूकहाँ जहाजभित्र ल्याए। अरू सात दिन पर्खेर तिनले फेरि त्यस ढुकुरलाई जहाजबाट उड़ाइपठाए। त्यो ढुकुर साँझमा तिनीकहाँ फर्क्यो। त्यसको चुच्चामा भर्खरै टिपेको भद्राक्षको एउटा पात थियो। तब पानी जमिनमा घटेछ भन्ने नोआले थाहा पाए। तब तिनले अरू सात दिन पर्खेर त्यस ढुकुरलाई फेरि उड़ाइपठाए, तर यस पाली त्यो तिनीकहाँ फर्केर आएन।
उत्पत्ति 8:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले नोआ, तिनीसित जहाजभित्र भएका सबै जङ्गली जनावर र घरपालुवा जनावरहरूलाई सम्झनुभयो; त्यसपछि उहाँले पृथ्वीमाथि बतास चलाउनुभयो, र पानी घट्न थाल्यो। अब गहिरा मूलहरू र आकाशका पानीका बाँधहरू बन्द भएका थिए, र आकाशबाट पानी पर्न रोकिएको थियो। पृथ्वीबाट पानी लगातार घट्दै जान थाल्यो। एक सय पचासौँ दिनपछि पानी कम भयो। त्यसपछि सातौँ महिनाको सत्रौँ दिनमा जहाज अरारात पर्वतमा अडियो। पानी दशौँ महिनासम्म लगातार घट्दै गयो; अनि दशौँ महिनाको पहिलो दिनमा पर्वतका टाकुराहरू देखिन थाले। चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले; अनि एउटा कागलाई बाहिर पठाए; त्यो पृथ्वीबाट पानी नसुकेसम्म यताउता उडिरह्यो। त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए। तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए। तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए। बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए। तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।
उत्पत्ति 8:1-12 पवित्र बाइबल (NERV)
नूह र उनीसित जहाजमा जो मानिस पशु र चराहरू थिए, तिनीहरूलाई परमेश्वरले सम्झनु भयो। परमेश्वरले पृथ्वीमा हावा बहाउनु भयो। र पानी बिस्तारै घट्न थाल्यो। आकाशबाट पानी पर्न छोडे पछि भूमि मुनिबाट पनि पानी बग्न छोड्यो। त्यसपछि बिस्तारै जमिनमा पानी घट्न थाल्यो। 150 दिन पुगेपछि पानी घटेको थियो अनि सातौं महीनाको सत्रौं दिन अरारात पर्वतमा जहाज अडियो। यसरी पानी दशौं महीना नपुगुन्जेलसम्म घटिरह्यो। महीनाको पहिला दिन पर्वतको चुचुराहरू देखिए। त्यसपछि चालीसौं दिनको अन्तमा नूहले जहाजको ढोका खोलेर एउटा कागलाई उडाई दिए। अनि त्यो काग पृथ्वीमा पानी नसुकुन्जेलसम्म उडेर जाँदै-फर्कंदै गरिरह्यो। त्यसपछि उनले फेरि पृथ्वीको सतहमा पानी सुकीसकेको छ वा छैन जान्न जहाजबाट एउटा ढुकुर उडाइ दिए। तर त्यस ढुकुरले पृथ्वीमा कतै आफ्नो पाऊ राख्ने ठाउँ पाएन। जमीनमा कतै पाऊ राख्ने ठाउँ नपाएर त्यो ढुकुर फर्केपछि नहुले हात फिंजाएर त्यसलाई समाती जहाजभित्र पसाए। नूहले अझै सात दिन पर्खेर फेरि त्यस ढुकुरलाई जहाजबाट बाहिर उडाइदिए, अनि त्यो ढुकुर साँझमा फेरि जहाजमा फर्किएर आयो। यस पल्ट नूहले पृथ्वीको सतहबाट पानी सुकेको चाल पाए कारण यस पल्ट त्यस ढुकुरले आफ्नो चुच्चोमा एउटा भद्राक्षको पात चेपेर ल्याएको थियो। त्यसपछि नूहले फेरि सात दिनसम्म पर्खे र त्यही ढुकुरलाई जहाजबाहिर उडाइ दिए तर यस पल्ट त्यो ढुकुर फर्केर नूह भएको जहाजमा आएन।
उत्पत्ति 8:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नोआ र उनीसँग नाउमा भएका सबै पशुहरूलाई परमेश्वरले भुल्नुभएको थिएन। उहाँले बतास चलाउनुभयो र पानी घट्न थाल्यो। पृथ्वीमुनिका पानीका मूलहरू सुके र आकाशका पानीका ढोकाहरू थुनिए। वर्षा बन्द भयो र १५० दिनसम्म पानी बिस्तारै घट्दै गयो। सातौँ महिनाको सत्रौँ दिनमा नाउ आरारातको एउटा पहाडमा अडिन आइपुग्यो। पानी घट्दै गयो र दशौँ महिनाको पहिलो दिनमा पहाडका टाकुराहरू देखा परे। चालीस दिनपछि नोआले जहाजको झ्याल खोलेर एउटा काग उडाए। त्यो फर्की आएन तर पानी पूरा नसुकुञ्जेल चारैतिर उडिरह्यो। त्यही बीचमा नोआले पानी सुक्यो कि सुकेन भनी हेर्न एउटा ढुकुर उडाए। तर अझसम्म पनि जमिन पानीले ढाकिराखेको हुनाले त्यस ढुकुरले उत्रने ठाउँ पाएन। त्यो नाउमा फर्की आयो र नोआले हात पसारेर त्यसलाई समाती नाउभित्र राखे। सात दिनसम्म पर्खेर उनले ढुकुरलाई फेरि बाहिर पठाए। चुच्चामा भद्राक्षको एउटा कलिलो पात च्यापेर त्यो साँझमा नोआकहाँ फर्की आयो। तब नोआले पानी घटेछ भनी थाहा पाए। त्यसपछि अरू सात दिन पर्खेर उनले ढुकुरलाई फेरि एकपल्ट बाहिर उडाए, यसपालि भने ढुकुर फर्केर आएन।