आफ्नी पत्नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्माइन्। कयिनले एउटा सहर बनाएर आफ्नो छोराकै नाउँमा त्यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट ईरादको जन्म भयो। ईरादबाट महूयाएलको जन्म भयो। महूयाएलबाट मतूशाएलको जन्म भयो। मतूशाएलबाट लेमेखको जन्म भयो। लेमेखले दुई जना पत्नी ल्याए। एउटीको नाउँ आदा र अर्कीको सिल्ला थियो। आदाले याबाललाई जन्माइन्। उनी पालमा बस्नेहरू र पशु पाल्नेहरूका पुर्खा थिए। उनका भाइको नाउँ यूबाल हो। उनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्लाले तूबल-कयिनलाई जन्माइन्। उनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्। लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कयिनको बदला सात गुणा लिइन्छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।” फेरि आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनले एक जना छोरा जन्माइन् र तिनको नाउँ यसो भनेर शेत राखिन्, “कयिनले मारेको हाबिलको सट्टामा परमेश्वरले एक जना अर्को बालक मलाई दिनुभयो।” शेतको पनि एक जना छोरो भयो, र उनको नाउँ एनोश राखियो। त्यस समयदेखि मानिसले परमप्रभुका नाउँको पुकारा गर्न सुरु गरे।
उत्पत्ति 4 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 4
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 4:17-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू