YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 3:1-8

उत्‍पत्ति 3:1-8 NNRV

परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?” स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।” सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ। किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।” जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए। अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए। अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।