YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 2:18-24

उत्‍पत्ति 2:18-24 NNRV

फेरि परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्‍यसको निम्‍ति त्‍यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।” परमप्रभुले सबै वन-पशु र आकाशका सबै पक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के-के नाउँ राख्‍दो रहेछ भनी हेर्न तिनीहरूलाई मानिसकहाँ ल्‍याउनुभयो। र मानिसले हरेक प्राणीलाई जे-जे नाउँ दिए त्‍यही-त्‍यही नै त्‍यसको नाउँ भयो। यसरी मानिसले नै सबै पाल्तु पशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे। तर आदमको निम्‍ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन। यसैकारण परमप्रभु परमेश्‍वरले मानिसलाई मस्‍त निद्रामा पार्नुभयो, र उनी निदाएको बेलामा उनका करङहरूमध्‍येको एउटा निकाल्नुभई त्‍यसको ठाउँमा मासु भरिदिनुभयो। जुन करङ परमप्रभु परमेश्‍वरले मानिसबाट निकाल्‍नुभएको थियो, त्‍यसबाट एउटी स्‍त्री बनाउनुभई मानिसकहाँ ल्‍याउनुभयो। मानिसले भने, “यो त मेरै हाड़को हाड़ र मासुको मासु हो। तिनलाई स्‍त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।” यसैकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड्‌छ र आफ्‍नी पत्‍नीसँग मिलिरहन्‍छ, र तिनीहरू एउटै शरीर हुन्‍छन्‌।