YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 17:1-14

उत्‍पत्ति 17:1-14 NNRV

जब अब्राम उनान्‍सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌। मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।” तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो, “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌। अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्‍य जाति-समूहको पिता तुल्‍याएको छु। म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌। तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु। तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।” अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म। मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुषको खतना हुनुपर्छ। तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ। तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌। चाहे तेरो घरमा जन्‍मेको होस्‌ वा दाम हालेर किनेको होस्‌ जसको खलड़ीको खतना भएको छैन, त्‍यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्‍तुसम्‍म हुनेछ। खतना नगरिएको जुनसुकै पुरुष जसको खलड़ीको खतना भएको छैन, त्‍यो मानिस आफ्‍नो जातिबाट बहिष्‍कार गरिनेछ। त्‍यसले मेरो करार भङ्ग गर्छ।”