YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 17:1-11

उत्‍पत्ति 17:1-11 NNRV

जब अब्राम उनान्‍सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। मेरो सामु हिँड्‌, र निर्दोष भएर बस्‌। मेरो र तेरो बीचमा म आफ्‍नो करार पक्‍का गर्नेछु, र म तेरो अत्‍यन्‍तै वृद्धि गराउनेछु।” तब अब्राम घोप्‍टो परे, र परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो, “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्‍य जाति-समूहको पिता हुनेछस्‌। अब उप्रान्‍त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्‍य जाति-समूहको पिता तुल्‍याएको छु। म तँलाई अत्‍यन्‍तै फल्‍दो-फुल्‍दो तुल्‍याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्‍पन्‍न हुनेछन्‌। तँ र तँपछिका तेरा सन्‍तानका परमेश्‍वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्‍तानहरूका बीचमा युग-युगसम्‍म स्‍थापित गर्नेछु। तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।” अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्‍तानहरूले तिनका पुस्‍तौँसम्‍म। मेरो र तेरो, र तँपछिका तेरा सन्‍तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्‍येको हरेक पुरुषको खतना हुनुपर्छ। तिमीहरूको आफ्‍नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्‍ह यही हुनेछ।