उत्पत्ति 17:1-11
उत्पत्ति 17:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब अब्राम उनान्सय वर्षका भए तब परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो सामु हिँड्, र निर्दोष भएर बस्। मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु, र म तेरो अत्यन्तै वृद्धि गराउनेछु।” तब अब्राम घोप्टो परे, र परमेश्वरले तिनलाई यसो भन्नुभयो, “हेर्, यो मेरो करार तँसँगै छ। तँ असंख्य जाति-समूहको पिता हुनेछस्। अब उप्रान्त तेरो नाउँ अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ, किनकि मैले तँलाई असंख्य जाति-समूहको पिता तुल्याएको छु। म तँलाई अत्यन्तै फल्दो-फुल्दो तुल्याउनेछु, र तँबाट धेरै जातिहरू बनाउनेछु। तँबाट राजाहरू उत्पन्न हुनेछन्। तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँपछिका तेरा सन्तानहरूका बीचमा युग-युगसम्म स्थापित गर्नेछु। तैंले प्रवास गरेको यो देश, अर्थात् सारा कनान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु।” अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तैंले चाहिँ मेरो करार पालन गर्नुपर्छ— तँ र तँपछिका तेरा सन्तानहरूले तिनका पुस्तौँसम्म। मेरो र तेरो, र तँपछिका तेरा सन्तानहरूका बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो: तिमीहरूमध्येको हरेक पुरुषको खतना हुनुपर्छ। तिमीहरूको आफ्नो खलड़ीको खतना हुनुपर्छ। मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ।
उत्पत्ति 17:1-11 पवित्र बाइबल (NERV)
जब अब्राम 99 बर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर। यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरू व्यापक संख्यामा बढाउनेछु।” तब अब्राम परमेश्वरअघि नतमस्तक भए र परमेश्वरले तिनलाई भन्नुभयो। “यो हाम्रो करारमा मेरो भाग हो। म तिमीलाई धेरै-धेरै जाति-समूहहरूको पिता बनाउनेछु। तिम्रो नाउँ अब्राम रहने छैन-तिम्रो नाउँ अब्राहाम हुनेछ। म तिमीलाई यो नाउँ राख्दैछु कारण तिमीलाई म धेरै-धेरै जाति-समूहहरूको पिता बनाउँदैछु। म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्। म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार सधैँको निम्ति रही रहनेछ। अनि म तँ र तेरा सन्तानहरूलाई यो भूमि दिनेछु। म तलाईं कनानको सम्पूर्ण भूमि दिनेछु जसमा तँ अहिले विदेशी छस्। म यो भूमि सधैँका लागि दिंदैछु अनि तेरो परमेश्वर हुन्छु।” अनि परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अब, यो चाहिं करारको तिम्रो भाग हो। अनि तिम्रा सन्तानहरूले यो मेरो करार पालन गर्नेछन्। तेरो र मेरो बीचको करार यही हो अनि यो सब तिम्रा सन्तानहरूको निम्ति हो। सबै छोरालाई खतना गराउनु पर्छ। तेरो र मेरो बिचमा भएको करार तैंले पालन गरेको देखाउनका लागी छाला काट्नेछस्।
उत्पत्ति 17:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब्राम उनान्सय वर्षको हुँदा परमप्रभुले उनलाई दर्शन दिएर भन्नुभयो, “म सर्वशक्तिमान् परमेश्वर हुँ। मेरो आज्ञा मान् र सधैँ जे ठीक छ, त्यो गर्। म तँसित करार बाँध्नेछु र धेरै सन्तानहरू तँलाई दिनेछु।” अब्रामले निहुरेर भूइँ छोए अनि परमेश्वरले भन्नुभयो, “म तँसँग यो करार बाँध्छु। म करार गर्दछु कि तँ धेरै-धेरै जातिहरूका पुर्खा हुनेछस्। अब उसो तेरो नाम अब्राम होइन तर ‘अब्राहाम’ हुनेछ किनभने म तँलाई धेरै जातिहरूका पुर्खा बनाउँदै छु। म तँलाई धेरै सन्तान दिनेछु, तीमध्ये कतिजना राजा हुनेछन्। तेरा यति धेरै सन्तानहरू हुनेछन् कि तीबाट धेरै जातिहरू बनिनेछन्। “मैले तँसित, तेरा सन्तान र आउँदा वंशहरूसित गरेको यो करार सदाकालको लागि करार बनाइराख्नेछु। म तँ र तेरा सन्तानका परमेश्वर हुनेछु। म तँलाई र तेरा वंशलाई यो देश दिनेछु, जुन देशमा तँ अहिले परदेशी छस्। सारा कनान देश सधैँभरिको लागि तेरा सन्तानको हुनेछ र म तिनीहरूका परमेश्वर हुनेछु।” परमेश्वरले अब्राहामलाई भन्नुभयो, “तँ, तेरा सन्तान र आउँदा वंशहरूले पनि यो करार मसँग राख्न राजी हुनुपर्नेछ। तँ तेरा सन्तान र आफ्ना बीचमा भएका हरेक पुरुषको खतना गर्न राजी हुनुपर्नेछ। अबउसो जन्मेको आठ दिन भएपछि तिमीहरूका हरेक छोरोको खतना गरिनुपर्नेछ। घरमा जन्मेका र विदेशीहरूबाट तिमीहरूले किनेका कमाराहरूबाट जन्मेका पनि त्यसरी नै खतना गरिनुपर्नेछ। त्यसले तेरा र मेरा बीचमा एउटा करार बाँधिएको छ भनी देखाउनेछ।