YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 13:5-18

उत्‍पत्ति 13:5-18 NNRV

अब्रामको साथमा लागेका लोतका पनि भेड़ाबाख्रा र गाईबस्‍तुहरूका बथान र पालहरू थिए। त्‍यस जमिनले तिनीहरू दुवैलाई सँगै रहेको अवस्‍थामा धान्‍न सकेन, किनकि तिनीहरूका भेड़ाबाख्रा र गाईबस्‍तुहरूको सम्‍पत्ति यति ठूलो थियो कि तिनीहरू साथसाथै रहन नसक्‍ने भए। अब्राम र लोतका गाईबस्‍तुका गोठालाहरूका बीचमा झगड़ा पनि भयो। त्‍यस बेला त्‍यस देशमा कनानी र परिज्‍जीहरू पनि बस्‍थे। यसैकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा र तिम्रा र मेरा गोठालाहरूका बीचमा झगड़ा नहोस्, किनकि हामी त नातेदार हौं। सारा देश तिम्रै अगि छ। तिमी मबाट अलग होऊ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” लोतले आफ्‍ना आँखा उठाएर हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्‍तै, अथवा सोअरतिरको मिश्रदेशजस्‍तै चारैतिर प्रशस्‍त पानीले भिजेको थियो। (परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरो यो हो।) यसैकारण लोतले यर्दनको जम्‍मै बेँसी रोजेर पूर्वतिर लागे। यसरी यिनीहरू छुट्टिए। अब्रामचाहिँ कनान देशमा नै बस्‍न लागे। लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे। तिनले आफ्‍नो पाल सदोमसम्‍म सारे। सदोमका मानिसहरू दुष्‍ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “अब तेरा आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्‍चिमतिर हेर्‌। तैंले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्‍तानलाई सधैँको निम्‍ति दिनेछु। म तेरा सन्‍तानलाई पृथ्‍वीको धूलोसरह बढ़ाउनेछु, यहाँसम्‍म कि कसैले धूलो गन्‍न सक्‍छ भने तेरा सन्‍तान पनि गन्‍न सक्‍नेछ। उठ्, देशको चारैतिर जा, किनकि म त्‍यो तँलाई दिनेछु।” तब अब्रामले आफ्‍ना पाल सारे, र हेब्रोनमा भएका मम्रेका फलाँटका रूखहरूमा आए। त्‍यहाँ आएर तिनी त्‍यहीँ बसोबास गर्न लागे। त्‍यहाँ परमप्रभुको निम्‍ति तिनले एउटा वेदी बनाए।