YouVersion लोगो
खोज आइकन

उत्पत्ति 13:5-18

उत्पत्ति 13:5-18 NCV

अब्रामसित यात्रा गर्ने लोतका पनि भेडाबाख्रा, गाईबस्तुहरूका बथान र पालहरू थिए। तर तिनीहरू एकैसाथ रहनका लागि जमिनले धान्‍न सकेन; किनकि तिनीहरूका सम्पत्तिहरू यति धेरै थिए कि तिनीहरू एकैसाथ रहन सकेनन्। अनि अब्रामका गोठालाहरू र लोतका गोठालाहरू बीचमा झगडा सुरु भयो। त्यस बेला त्यस देशमा कनानी र परिज्जीहरू पनि बसोबास गर्थे। यसकारण अब्रामले लोतलाई भने, “तिम्रो र मेरो बीचमा, र तिम्रा गोठालाहरू र मेरा गोठालाहरू बीचमा झगडा नहोस्; किनकि हामी नजिकका नातेदार हौँ। के सम्पूर्ण देश तिम्रो सामु छैन र? हामी अलग होऔँ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” त्यसपछि लोतले चारैतिर हेरे; सोअरतिरको यर्दनको सबै समथल भूमिलाई याहवेहको बगैँचाझैँ प्रशस्त पानी भएको इजिप्ट देशजस्तै देखे। (योचाहिँ याहवेहले सदोम र गमोरालाई नष्‍ट गर्नु अगिको कुरा थियो।) यसकारण लोतले आफ्ना निम्ति यर्दनका सबै समथल भूमिलाई चुने; अनि पूर्वतिर लागे। यसरी यी दुई मानिसहरू एक-अर्काबाट अलग भए। अब्राम कनान देशमै बसे, र लोतचाहिँ समथल भूमिका सहरहरूमध्ये एउटामा बसे; अनि तिनले सदोमको छेउमा आफ्ना पालहरू टाँगे। सदोमका मानिसहरू दुष्‍ट थिए, र याहवेहको विरुद्धमा घोर पाप गरिरहन्थे। अब्रामबाट लोत छुट्टिएपछि याहवेहले अब्रामलाई भन्‍नुभयो, “तँ जहाँ छस्, त्यहाँबाट उत्तर र दक्षिण, पूर्व र पश्‍चिम चारैतिर हेर्। तैँले देखेको सबै जमिन तँ र तेरा सन्तानहरूलाई म सदाका निम्ति दिनेछु। म तेरा सन्तानहरूलाई पृथ्वीको धुलोझैँ बनाउनेछु, र कसैले धुलो गन्‍न सक्छ भने तेरा सन्तानहरूलाई पनि गन्‍न सक्नेछ। जा, त्यस देशको लम्बाइ र चौडाइ वारपार हिँड्; किनकि यो म तँलाई दिँदैछु।” यसकारण अब्रामले आफ्नो पाल सारे, र हेब्रोनमा मम्रेका फलाँटका ठूला रूखहरूको छेउमा गएर बसे; त्यहाँ तिनले याहवेहको निम्ति एउटा वेदी बनाए।

उत्पत्ति 13 पढ्नुहोस्