YouVersion लोगो
खोज आइकन

गलाती 3:15-20

गलाती 3:15-20 NNRV

भाइ हो, प्रतिदिनको जीवनबाट एउटा उदाहरण लिऔं, एक चोटि पक्‍का भइसकेपछि मानिसले बनाएको इच्‍छापत्र कसैले रद्द गर्न सक्‍दैन, न त त्‍यसमा केही थप्‍न सक्‍छ। प्रतिज्ञाहरू अब्राहाम र उनको सन्‍तानलाई दिइएका थिए। धर्मशास्‍त्रले “सन्‍तानहरूलाई” भन्‍दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्‍छ। तर धर्मशास्‍त्रले “तिम्रो सन्‍तानलाई” भन्‍छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्‍छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ। मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्‍यवस्‍थाले त्‍यसभन्‍दा अघि परमेश्‍वरले पक्‍का गर्नुभएको करारलाई काट्‌दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो। किनकि उत्तराधिकार व्‍यवस्‍थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा पाइने कुरै आउँदैन। तर परमेश्‍वरले प्रतिज्ञाद्वारा नै अब्राहामलाई यो दिनुभयो। तब व्‍यवस्‍थाको आवश्‍यकता किन पर्‍यो त? जुन सन्‍तानलाई प्रतिज्ञा भएको थियो, ऊ नआउञ्‍जेल अपराधको कारणले व्‍यवस्‍था थपियो। अनि एक जना मध्‍यस्‍थले स्‍वर्गदूतहरूद्वारा व्‍यवस्‍थाको स्‍थापना गर्‍यो। एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।