YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:1-7

प्रस्‍थान 4:1-7 NNRV

मोशाले भने, “यदि तिनीहरूले मलाई पत्‍याएनन्‌ र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?” तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” परमप्रभुले भन्‍नुभयो, “त्‍यो भूइँमा फाल्‌।” मोशाले त्‍यो भूइँमा फालिदिए, र त्‍यो एउटा सर्प भयो, र मोशा त्‍यसदेखि डराएर भागे। तब परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “तेरो हात लम्‍काएर त्‍यसको पुच्‍छरमा समात्‌।” अनि मोशाले हात लम्‍काएर समाते, र त्‍यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्‍यो। परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्‍वर, अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्‍याऊन्‌।” तब परमप्रभुले तिनलाई अझै यसो भन्‍नुभयो, “तेरो हात आफ्‍नो खास्‍टोभित्र हाल्‌।” तिनले आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब तिनले त्‍यो बाहिर निकाले, तब त्‍यो कुष्ठरोग लागेर हिउँजस्‍तै सेतो भएको रहेछ। उहाँले तिनलाई भन्‍नुभयो, “तेरो हात फेरि खास्‍टोभित्र हाल्‌।” तिनले फेरि आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब फेरि निकाले, तब त्‍यो आफ्‍नो शरीरको अरू मासुजस्‍तै भइहाल्‍यो।