तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्येको हरेक जनले आ-आफ्नो प्राणको छुटकाराको निम्ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन। जति जना गनिन्छन् तिनीहरूले पवित्रस्थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्। जति जना बीस वर्ष र त्यसभन्दा माथिका गनिन्छन्, उतिले परमप्रभुको भेटी देऊन्। जब तिमीहरूका प्राणका प्रायश्चितको निम्ति परमप्रभुको भेटी दिइन्छ, तब धनीले आधा-शेकेलभन्दा बढ़ी र गरीबले त्यसभन्दा कम नदेओस्। इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।”
तब परमप्रभुले मोशालाई भन्नुभयो, “धुनलाई काँसाको बाटा बना। त्यसको खुट्टा पनि काँसाको होस्। त्यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्यसमा पानी हाल्नू। त्यस पानीले हारून र त्यसका छोराहरूले आ-आफ्ना हातगोड़ा धोऊन्। जब तिनीहरू भेट हुने पालमा पस्छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि जलाउनलाई आउँछन्, तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन् र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्तानका निम्ति तिनीहरूका पुस्ताभरि अनन्तको विधि होस्।”
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो, र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन भद्राक्षको तेल लिएर अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात् बास्ना दिने सुगन्धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्यो पवित्र तेल होस्। भेट हुने पाल र गवाहीको सन्दूक, र टेबिल, त्यसका सबै सामानसमेत, र सामदान, त्यसका सबै सामानसमेत, र धूपको वेदी, होमबलिको वेदी, त्यसका सबै सामानहरू, र धुने बाटा, त्यसका खुट्टाहरूसमेत, त्यसैले अभिषेक गर्नू। यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्। जुन चीजले तिनीहरूलाई छुन्छ त्यो पवित्र हुनेछ।”
“हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। इस्राएलीहरूलाई यसो भन्नू, ‘त्यो तिमीहरूका पुस्तौँभरि मेरो निम्ति पवित्र अभिषेक-तेल होस्।’ त्यो कोही मानिसको शरीरमा नखन्याऊन्, र त्यही पदार्थहरू मिसाएर त्योजस्तै अरू तेल नबनाउनू। त्योचाहिँ पवित्र हो, र तिमीहरू त्यसलाई पवित्र ठान। जसले मिसाएर त्योजस्तै अत्तर बनाउला, र त्यसबाट पूजाहारीबाहेक कोही अन्य मानिसको शरीरमा लगाउला, त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत हुनेछ।”
फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्। त्यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही-पाटीको सामुन्ने राख्नू। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्। त्यसको मिसावटअनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”