प्रस्थान 30:11-38
प्रस्थान 30:11-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, “जब तैँले इस्राएलीहरूको गन्ती लिनलाई तिनीहरूको जनगणना गर्नेछस्, तब प्रत्येकले आफ्नो गन्तीको समयमा त्यसको प्राणका लागि याहवेहलाई छुटकाराको मोल तिरोस्। तब तैँले तिनीहरूलाई गन्ती गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन। हरेक जो गन्ती भइसकेकाहरूपट्टि पार गरेर जान्छ, त्यसले पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल दिनुपर्नेछ (एक शेकेल बराबर बीस गेरा हुन्छ)। त्यो आधा शेकेल याहवेहका निम्ति भेटी हो। बीस वर्ष र त्योभन्दा बढी उमेर पुगेका जति जना गनिन्छन्, सबैले याहवेहका निम्ति भेटी देऊन्। तिमीहरूले आफ्नो प्रायश्चितका लागि याहवेहलाई भेटी चढाउँदा धनीहरूले आधा शेकेलभन्दा बढी र गरिबहरूले त्योभन्दा कम नदेओस्। इस्राएलीहरूबाट प्रायश्चितको रकम लिएर त्यसलाई भेट हुने पालको सेवाका निम्ति प्रयोग गर्नू। तिमीहरूले आफ्नो प्राणको प्रायश्चित गर्दा याहवेहको सामु इस्राएलीहरूका निम्ति यो एउटा सम्झनास्वरूप हुनेछ।” तब याहवेहले मोशालाई भन्नुभयो, “धुनको लागि काँसोको खुट्टा भएको काँसोका धुने बाटा बनाउनू। त्यसलाई समागम पाल र वेदीको बीचमा राखेर त्यसमा पानी भर्नू। हारून र त्यसका छोराहरूले त्यसमा भएको पानीले आफ्ना हातगोडा धोऊन्। जब तिनीहरू समागम पालभित्र पस्छन्, तब हातगोडा धोएर मात्र पसून्, ताकि तिनीहरू नमरून्। साथै, जब तिनीहरू वेदीनेर सेवा गर्नलाई याहवेहका निम्ति अग्निबलि जलाउनलाई आउँछन्, तब तिनीहरूले पानीले हातगोडा धोऊन्, र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्ततिका निम्ति तिनीहरूका पुस्ता-पुस्तासम्मका निम्ति अनन्तको धार्मिक विधि होस्।” तब याहवेहले मोशालाई भन्नुभयो, “निम्न लिखित असल मसाला लिनू: पाँच सय शेकेल तरल मूर्र, त्यसको आधा अथवा दुई सय पचास शेकेल बास्ना आउने दालचिनी, दुई सय पचास शेकेल सुगन्धित बोझो, पाँच सय शेकेल तेजपात। सबै समागम पालको शेकेलको हिसाबले, र एक हिन जैतुनको तेल। यी सबैबाट अभिषेकको पवित्र तेल बनाउनू, र बनाउने सिपालु व्यक्तिले बनाएको बास्नायुक्त होस्। त्यो अभिषेक गर्ने पवित्र तेल हुनेछ। तब त्यस तेललाई समागम पाल, साक्षीको सन्दुक, टेबुल र त्यसमा भएका सम्पूर्ण सामग्रीहरू, सामदान र त्यसका अरू उपकरणहरू, धूपको वेदी, अनि होमबलिको वेदी र त्यसका सबै भाँडाहरू र बाटा, र त्यसलाई उभ्याउने चीजसमेत सबैलाई अभिषेक गर्नलाई प्रयोग गर्नू। तैँले यी सबै कुराहरू पवित्र गर्नू, र तिनीहरू अति पवित्र हुनेछन्। जेसुकैले तिनीहरूलाई छोए तापनि त्यो पवित्र हुनेछ। “हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर पवित्र गर्नू, र तिनीहरूले पुजारी भई मेरो सेवा गरून्। इस्राएलीहरूलाई भन्, ‘यो आउने पुस्ताहरूका लागि मेरो पवित्र अभिषेकको तेल होस्। यसलाई अरू कुनै मानिसहरूका शरीरहरूमा नखन्याउनू र यही तरिकाले कुनै तेल नबनाउनू। यो पवित्र हो, र तैँले यसलाई पवित्र ठान्नू। जसले यस्तै सुगन्धित तेल बनाउँछ र जसले यसलाई पुजारीबाहेक अरूमाथि लगाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।’ ” तब याहवेहले मोशालाई भन्नुभयो, “सुगन्धित मसलाहरू—कुन्द, धूप, नखी र सालधूप—अनि शुद्ध मूर्र सबै एकै परिमाणमा लिनू, अनि अत्तर बनाउनमा सिपालु व्यक्तिद्वारा सुगन्धित धूप बनाउनू। त्यसमा नुन हाल्नुपर्छ, र त्यो शुद्ध र पवित्र हुनुपर्छ। त्यसको केही भाग पिँधेर पिठो बनाउनू, र त्यसलाई समागम पालको साक्षी पाटीको सामु राख्नू, जहाँ म तँलाई भेट्नेछु। यो तेरा निम्ति अति पवित्र हुनेछ। यस तरिकाले तिमीहरूले आफ्नो निम्ति कुनै धूप नबनाउनू; यसलाई याहवेहका निम्ति पवित्र ठान्नू। जसले यस सुगन्धको आनन्द लिनलाई यस्तो बनाउँछ, त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्छ।”
प्रस्थान 30:11-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूको जनगणना गर्दा तिनीहरूमध्येको हरेक जनले आ-आफ्नो प्राणको छुटकाराको निम्ति परमप्रभुलाई यसरी मोल तिरोस्, र गणना गर्दा तिनीहरूमाथि कुनै विपत्ति आउनेछैन। जति जना गनिन्छन् तिनीहरूले पवित्रस्थानको शेकेलको हिसाबले आधा-शेकेल दिनुपर्नेछ। एक शेकेल बीस गेराको हुन्छ। यसरी परमप्रभुको भेटी आधा-शेकेलको होस्। जति जना बीस वर्ष र त्यसभन्दा माथिका गनिन्छन्, उतिले परमप्रभुको भेटी देऊन्। जब तिमीहरूका प्राणका प्रायश्चितको निम्ति परमप्रभुको भेटी दिइन्छ, तब धनीले आधा-शेकेलभन्दा बढ़ी र गरीबले त्यसभन्दा कम नदेओस्। इस्राएलीहरूबाट प्रायश्चितको पैसा लिएर भेट हुने पालका सेवाको निम्ति प्रयोग गर्नू, र त्यो तिमीहरूका प्राणको प्रायश्चित गर्नलाई परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना होस्।” तब परमप्रभुले मोशालाई भन्नुभयो, “धुनलाई काँसाको बाटा बना। त्यसको खुट्टा पनि काँसाको होस्। त्यो भेट हुने पाल र वेदीको बीचमा राखेर त्यसमा पानी हाल्नू। त्यस पानीले हारून र त्यसका छोराहरूले आ-आफ्ना हातगोड़ा धोऊन्। जब तिनीहरू भेट हुने पालमा पस्छन्, कि वेदीनेर सेवा गर्नलाई परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि जलाउनलाई आउँछन्, तब तिनीहरूले यही पानीले हात-गोड़ा धोऊन् र तिनीहरू नमरून्। यो हारून र त्यसका सन्तानका निम्ति तिनीहरूका पुस्ताभरि अनन्तको विधि होस्।” फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले असल-असल मसला, अर्थात् ५०० शेकेल तरल मूर्र र त्यसको आधा, अर्थात् २५० शेकेल दालचिनी, र २५० शेकेल बोझो, र ५०० शेकेल तेजपात— यी सबैको नाप पवित्रस्थानको शेकेलको हिसाबले होस्— र एक हीन भद्राक्षको तेल लिएर अभिषेक गर्ने पवित्र तेल बनाउनू, अर्थात् बास्ना दिने सुगन्धित मसला बनाउनेले झैँ बनाउनू। अभिषेक गर्ने त्यो पवित्र तेल होस्। भेट हुने पाल र गवाहीको सन्दूक, र टेबिल, त्यसका सबै सामानसमेत, र सामदान, त्यसका सबै सामानसमेत, र धूपको वेदी, होमबलिको वेदी, त्यसका सबै सामानहरू, र धुने बाटा, त्यसका खुट्टाहरूसमेत, त्यसैले अभिषेक गर्नू। यसरी यिनीहरूलाई पवित्र गर्नू, र ती अति पवित्र होऊन्। जुन चीजले तिनीहरूलाई छुन्छ त्यो पवित्र हुनेछ।” “हारून र त्यसका छोराहरूलाई अभिषेक गरेर तिनीहरूलाई पवित्र गर्नू, र तिनीहरूले पूजाहारी पदमा मेरो सेवा गरून्। इस्राएलीहरूलाई यसो भन्नू, ‘त्यो तिमीहरूका पुस्तौँभरि मेरो निम्ति पवित्र अभिषेक-तेल होस्।’ त्यो कोही मानिसको शरीरमा नखन्याऊन्, र त्यही पदार्थहरू मिसाएर त्योजस्तै अरू तेल नबनाउनू। त्योचाहिँ पवित्र हो, र तिमीहरू त्यसलाई पवित्र ठान। जसले मिसाएर त्योजस्तै अत्तर बनाउला, र त्यसबाट पूजाहारीबाहेक कोही अन्य मानिसको शरीरमा लगाउला, त्यो आफ्नो मानिसहरूबाट बहिष्कृत हुनेछ।” फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “सुगन्धित मसला— खोटो, सेखलेट र हिङजस्तै चोप— शुद्ध सेतो-धूपसमेत तौलमा बराबर लिएर त्यसको सुगन्धित, मिश्रित धूप अत्तर बनाउनेले जस्तै गरी बनाउनू। त्यो नून मिसिएको शुद्ध र पवित्र होस्। त्यसबाट केही कुटेर मसिनो पार्नू, र अलिकताचाहिँ भेट हुने पालमा तँसित भेट गर्ने स्थानमा गवाही-पाटीको सामुन्ने राख्नू। त्यो तिमीहरूका निम्ति अति पवित्र होस्। त्यसको मिसावटअनुसार त्यो धूप तिमीहरूले आफ्नै निम्ति नबनाउनू। त्यो तेरो नजरमा परमप्रभुको निम्ति पवित्र होस्। कसैले बास्ना मन पराएर त्यो जस्तै केही धूप बनायो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत होस्।”
प्रस्थान 30:11-38 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूको गन्ती गर जसद्वारा तिमीले त्यहाँ कति जन-संख्या छ थाहा पाउनेछौ। हरेकले आफ्नो जीवन बचाउनु परमप्रभुलाई केही भेटी दिनु पर्छ। नत्र तिनीहरूले कष्ट भोग्नु पर्छ जब तिमी उनीहरूको गन्ती गर्छौ। गन्ती गरिएका प्रत्येक अधिकारिक नापमा आधा शेकेल तिर्नुपर्छ। (एक शेकेल बीस गेराको हुन्छ) यो एउटा बलिदान परमप्रभुको लागि हो। गन्ती गरिएकोहरूमा प्रत्येक बीस बर्ष अथवा अधिक उमेर भएकाहरूले यो उपहार चढाउनु पर्छ। बलि धनी र गरीब बीच कुनै भिन्नता बिनै सबैले बराबर तिर्नु पर्छ तर धनीले वेशी र गरीबले कम्ती तिर्नु हुँदैन। यो बलि तिम्रो आफ्नो जीवनको लागि हो। उद्धारको पैसा भेट हुने पालको सेवामा प्रयोग गर। यो बलिदानले इस्राएलीहरूलाई सम्झना गराउँछ तिनीहरूका जीवनको निम्ति मोल तिरिएको छ।” परमप्रभुले मोशालाई भन्नु भयो, “काँसाको एउटा भाँडा बनाऊ, त्यसलाई काँसाको आधारमा राख। यो भाँडा भेट हुने पाल र वेदीको बीचमा राखि देऊ अनि हात गोडा धुनको निम्ति यस भित्र पानी भर। हारून अनि उनका छोराहरूले तिनीहरूको हातहरू अनि खुट्टाहरू यो पानीले धुनु पर्छ। जब हारून अनि उसका छोराहरू भेट हुने पालभित्र पस्छन् अथवा वेदीको छेउमा आएर परमप्रभुलाई आगोद्वारा बलिदानहरू चढाउँछन्। यदि तिनीहरूले हात खुट्टा धोए भने तिनीहरू मर्ने छैनन्। यो नियम हारून र तिनका मानिसहरूको निम्ति भविष्यमा पनि सदा-सर्वदा चलिरहनेछ।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “राम्रो मसलाहरू जम्मा गर। 500 शेकेल तरल मूर्र त्यसको आधा (अर्थात 250 शेकेल) मिठो सुगन्धित दालचिनी अनि 250 शेकेल मिठो सुगन्धित काठ, अनि 500 शेकेल तेजपात ल्याऊ। एक टीन भद्राक्षको तेल पनि ल्याउनु पर्छ यी सबै चीजहरूको नाप अधिकारिक नाप अनुसार गर। “यी सबै चीजहरू एक साथ मिलाएर मिठो सुगन्धित पवित्र अभिषेक गर्ने पवित्र तेल बनाऊ। यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क। अनि टेबलमाथि, सामदान सबै सामानहरूमाथि अनि सबै सामानहरू अनि धूप वेदीमाथि। होमबलि चढाउने वेदी र त्यसमाथिको प्रत्येक चीजहरूमा यो तेल हाल। कचौरा अनि यसको आधारमा पनि यो तेल हाल। यी सबै चीजहरू महा-पवित्र हुनेछन्। यसलाई स्पर्श गर्ने कुनै पनि वस्तु पवित्र हुनपर्छ। “हारून अनि उसका छोराहरूलाई यो तेलले अभिषेक गर। तिनीहरू पवित्र हुनेछन अनि पूजाहारीले जस्तै मेरो सेवा गर्नेछन्। इस्राएलीहरूलाई भन, तिमीहरूका संन्तानहरू रहुन्जेल सदा-सर्वदा यो मेरो पवित्र अभिषेकको तेल हुनेछ। यो पवित्र तेललाई तिमीहरूको शरीरमा साधरण प्रकारले नदल। अरू कुनै तेल यस तरीकाले नबनाऊ। यो तेल पवित्र हो तिमीहरूको निम्ति विशेष तेल मानिनु पर्छ। यदि कुनै मानिसले यो तेल बनाउँछ अनि यो विदेशीलाई दिन्छ जो एउटा पुजाहारी होइन, तब त्यो मानिसलाई उसका मानिसहरूबाट अलग्ग राख्नु पर्छ।” त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो, “यी सुगन्धित मसलाहरू लेऊः खोटो, कस्तुरी गन्ध, सालधूप अनि शुद्ध धूप। यी सबै मसलाहरूको मात्रा बराबर हुनु आवश्यक छ। सुगन्धित धूप बनाउन यी सबै मसला मिसाऊ र जसरी सुगन्धित तेल बनाएको तरीकामा नै यो धूप पनि बनाउनु पर्छ। शुद्ध र पवित्र पार्नको निम्ति त्यसमा नुन पनि मिलाऊ। केही धूपहरू पिँधेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उदेश्यमा प्रयोग गर्नु पर्छ। यस प्रकारले बनाएको धूपलाई केही उदेश्यको निम्ति प्रयोग नगर। तिमीले यसलाई परमप्रभुको निम्ति विशेष तरिकाले प्रयोग गर्नु पर्छ। कोही मानिसहरूले आफ्नो निम्ति यस प्रकारको विशेष धूप बनाउन खोज्ला र उसले त्यसको सुगन्ध लिन सक्ला, तर यदि कुनै मानिसले त्यसो गरे उसलाई उसको आफन्तहरूबाट छुट्टयाउनै पर्छ।”
प्रस्थान 30:11-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “जब तैँले इस्राएलीहरूको गन्ती लिनेछस्, हरेक मानिसले आफ्नो प्राणको निम्ति मोल तिर्नुपर्नेछ र त्यसलाई गन्ती लिएको बेलामा केही आपत्-विपत पर्नेछैन। गन्ती भएको हरेकले तोकिएको मोल तिर्नुपर्नेछ। त्यो मोल हरेकले मलाई चढाएको एउटा भेटीको रूपमा तिर्नुपर्नेछ। गन्तीमा परेको प्रत्येक मानिसले अथवा २० वर्ष पुगेका वा त्योभन्दा बढी उमेर भएकाहरूले त्यो मोल मलाई तिर्नुपर्नेछ। आफ्नो प्राणको मोल तिर्दा धनीले धेरै वा गरीबले थोरै नदेओस्। इस्राएलका मानिसहरूबाट त्यो कर उठाएर मेरो बास गर्ने पवित्र पालको रेखदेख गरेको खर्च भर्ने गर्नू। त्यो कर तिनीहरूका प्राणको मोल तिरेको हो र म तिनीहरूको रक्षा गर्ने काम याद राख्नेछु।” परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको आसन भएको एउटा काँसाको पानी हाल्ने बाटा बना, त्यसलाई पाल र वेदीको बीचमा राख् र त्यसमा पानी हाल्। हारून र त्यसका छोराहरूले आफ्ना हात-गोडा धुँदा त्यो पानी चलाउनुपर्छ। तिनीहरू पालभित्र पस्नुअघि अथवा वेदीको छेउमा बलि चढाउन जानुअघि तिनीहरूले आफ्ना हात-गोडा धुनुपर्नेछ। त्यसो भए तिनीहरू मर्नेछैनन्। तिनीहरूले आफ्ना हात-गोडा धुनुपर्छ र तिनीहरू मर्नेछैनन्। यो एउटा विधि हो, जसलाई तिनीहरूले र तिनीहरूका सन्तानले सदासर्वदा मान्नुपर्नेछ।” परमप्रभुले मोशालाई भन्नुभयो, “सबैभन्दा असल मसलाहरू ली। छ किलो तरल मूर्र, तीन-तीन किलो सुगन्ध भएको दालचिनी, बेत र छ किलो तेजपात, सबै तोकिएको तौलअनुसार तौलेर लिनू। त्यसमा चार लिटर जैतुनको तेल थप्नू र सुगन्धित तेलजस्तो मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू। त्यसले म बास गर्ने पवित्र पाल, करारको सन्दुकमा अभिषेक गर्नलाई प्रयोग गर्नू, टेबिल र त्यसका सारा सर-सामान, सामदान र त्यसका सारा सर-सामान, धूप बाल्ने वेदी, चढाइएका भेटीहरू डढाउने वेदी र त्यसका सारा सर-सामान र आसनसहित पानी हाल्ने भाँडो अभिषेक गर्नू। त्यसरी ती सबै थोक अर्पण गर्नू र तिनीहरू सम्पूर्णरूपले पवित्र हुनेछन् र तिनलाई कुनै मानिस वा थोकले छोयो भने तिनको पवित्रताको शक्तिले त्यसलाई हानि गर्नेछ। तब हारून र त्यसका छोराहरूलाई अभिषेक गर् र मेरो सेवा गर्न तिनीहरूलाई मेरा पूजाहारी नियुक्त गर्। इस्राएलीहरूलाई यसो भन्, यो पवित्र अभिषेक गर्ने तेल भविष्यमा सधैँ मेरो सेवाको निम्ति चलाइनुपर्नेछ। यो साधारण मानिसमाथि नखन्याउनू र अरू कुनै कामको तेल यस तरिकाले नबनाउनू। यो पवित्र छ अनि तिमीहरूले यसलाई पवित्र राख्नू। जसले त्योजस्तो अत्तर अरू केही कुरा बनाउला वा पूजाहारीबाहेक अरू कुनै मानिसमाथि यो खन्याउला, त्यो मेरो प्रजामा गनिनेछैन।” परमप्रभुले मोशालाई भन्नुभयो, “यी सुगन्धित मसलाहरू बराबर मात्रामा लिनू: खोटो, सेखलेट, हिँङजस्तै चोप र शुद्ध सुगन्धित धूप। तिनीहरूलाई सुगन्धित तेलजस्तो गरी मिसाएर धूप बनाउनू। त्यसलाई चोखो र पवित्र राख्न नुन थप्नू। त्यसको एक हिस्सा मिहिन धुलो बनाएर पिस्नू र त्यसलाई म बास गर्ने पवित्र पालमा लगेर करारको सन्दुकको अघि छर्कनू। यस धूपलाई सम्पूर्णरूपले पवित्र राख्नू। त्यो बनाउने नियमअनुसार अरू कुनै धूप तिमीहरूले आफ्नो निम्ति नबनाउनू। मलाई अर्पण गरेको एउटा पवित्र थोकझैँ त्यसलाई मान्नू। कसैले त्यही प्रकारले सुगन्धित तेलजस्तो व्यवहार गर्न अरू कुनै कुरा बनायो भने त्यो मेरो मानिसमा गन्ती हुनेछैन।”