YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 30:11-38

प्रस्‍थान 30:11-38 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “जब तैँले इस्राएलीहरूको गन्‍ती लिनेछस्, हरेक मानिसले आफ्‍नो प्राणको निम्‍ति मोल तिर्नुपर्नेछ र त्‍यसलाई गन्‍ती लिएको बेलामा केही आपत्-विपत पर्नेछैन। गन्‍ती भएको हरेकले तोकिएको मोल तिर्नुपर्नेछ। त्‍यो मोल हरेकले मलाई चढाएको एउटा भेटीको रूपमा तिर्नुपर्नेछ। गन्‍तीमा परेको प्रत्‍येक मानिसले अथवा २० वर्ष पुगेका वा त्‍योभन्दा बढी उमेर भएकाहरूले त्‍यो मोल मलाई तिर्नुपर्नेछ। आफ्‍नो प्राणको मोल तिर्दा धनीले धेरै वा गरीबले थोरै नदेओस्। इस्राएलका मानिसहरूबाट त्‍यो कर उठाएर मेरो बास गर्ने पवित्र पालको रेखदेख गरेको खर्च भर्ने गर्नू। त्‍यो कर तिनीहरूका प्राणको मोल तिरेको हो र म तिनीहरूको रक्षा गर्ने काम याद राख्‍नेछु।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “काँसाको आसन भएको एउटा काँसाको पानी हाल्‍ने बाटा बना, त्‍यसलाई पाल र वेदीको बीचमा राख् र त्‍यसमा पानी हाल्। हारून र त्‍यसका छोराहरूले आफ्‍ना हात-गोडा धुँदा त्‍यो पानी चलाउनुपर्छ। तिनीहरू पालभित्र पस्‍नुअघि अथवा वेदीको छेउमा बलि चढाउन जानुअघि तिनीहरूले आफ्‍ना हात-गोडा धुनुपर्नेछ। त्‍यसो भए तिनीहरू मर्नेछैनन्। तिनीहरूले आफ्‍ना हात-गोडा धुनुपर्छ र तिनीहरू मर्नेछैनन्। यो एउटा विधि हो, जसलाई तिनीहरूले र तिनीहरूका सन्‍तानले सदासर्वदा मान्‍नुपर्नेछ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “सबैभन्दा असल मसलाहरू ली। छ किलो तरल मूर्र, तीन-तीन किलो सुगन्‍ध भएको दालचिनी, बेत र छ किलो तेजपात, सबै तोकिएको तौलअनुसार तौलेर लिनू। त्‍यसमा चार लिटर जैतुनको तेल थप्‍नू र सुगन्‍धित तेलजस्‍तो मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू। त्‍यसले म बास गर्ने पवित्र पाल, करारको सन्‍दुकमा अभिषेक गर्नलाई प्रयोग गर्नू, टेबिल र त्‍यसका सारा सर-सामान, सामदान र त्यसका सारा सर-सामान, धूप बाल्‍ने वेदी, चढाइएका भेटीहरू डढाउने वेदी र त्‍यसका सारा सर-सामान र आसनसहित पानी हाल्‍ने भाँडो अभिषेक गर्नू। त्‍यसरी ती सबै थोक अर्पण गर्नू र तिनीहरू सम्‍पूर्णरूपले पवित्र हुनेछन् र तिनलाई कुनै मानिस वा थोकले छोयो भने तिनको पवित्रताको शक्तिले त्‍यसलाई हानि गर्नेछ। तब हारून र त्‍यसका छोराहरूलाई अभिषेक गर्‌ र मेरो सेवा गर्न तिनीहरूलाई मेरा पूजाहारी नियुक्त गर्‌। इस्राएलीहरूलाई यसो भन्, यो पवित्र अभिषेक गर्ने तेल भविष्‍यमा सधैँ मेरो सेवाको निम्‍ति चलाइनुपर्नेछ। यो साधारण मानिसमाथि नखन्‍याउनू र अरू कुनै कामको तेल यस तरिकाले नबनाउनू। यो पवित्र छ अनि तिमीहरूले यसलाई पवित्र राख्‍नू। जसले त्‍योजस्‍तो अत्तर अरू केही कुरा बनाउला वा पूजाहारीबाहेक अरू कुनै मानिसमाथि यो खन्‍याउला, त्‍यो मेरो प्रजामा गनिनेछैन।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी सुगन्‍धित मसलाहरू बराबर मात्रामा लिनू: खोटो, सेखलेट, हिँङजस्‍तै चोप र शुद्ध सुगन्‍धित धूप। तिनीहरूलाई सुगन्‍धित तेलजस्‍तो गरी मिसाएर धूप बनाउनू। त्‍यसलाई चोखो र पवित्र राख्‍न नुन थप्‍नू। त्‍यसको एक हिस्‍सा मिहिन धुलो बनाएर पिस्‍नू र त्‍यसलाई म बास गर्ने पवित्र पालमा लगेर करारको सन्‍दुकको अघि छर्कनू। यस धूपलाई सम्‍पूर्णरूपले पवित्र राख्‍नू। त्‍यो बनाउने नियमअनुसार अरू कुनै धूप तिमीहरूले आफ्‍नो निम्‍ति नबनाउनू। मलाई अर्पण गरेको एउटा पवित्र थोकझैँ त्‍यसलाई मान्‍नू। कसैले त्‍यही प्रकारले सुगन्‍धित तेलजस्‍तो व्‍यवहार गर्न अरू कुनै कुरा बनायो भने त्‍यो मेरो मानिसमा गन्‍ती हुनेछैन।”

प्रस्‍थान 30 पढ्नुहोस्