YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 30:1-10

प्रस्‍थान 30:1-10 NNRV

“तैंले धूप बाल्‍नका निम्‍ति एउटा वेदी बबुल काठको बनाउनू। त्‍यसको लमाइ एक हात र त्‍यसको चौड़ाइ एक हातको होस्‌। त्‍यो वर्गाकार होस्, र त्‍यसको उचाइ दुई हातको होस्‌। त्‍यसका सीङहरू त्‍यही एउटै टुक्रा काठकै होऊन्‌। त्‍यसका माथिल्‍लो र चारैतिरका पाटाहरू त्‍यसका सीङहरूसमेत निखुर सुनले मोहोर्नू, र त्‍यसको निम्‍ति वरिपरि सुनको एउटा बिट बनाउनू। त्‍यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्‍द्रा बनाएर त्‍यसका दुवैतिर लगाउनू, र बोक्‍ने डन्‍डाहरूको लागि ती मुन्‍द्राचाहिँ घर होऊन्‌। डन्‍डाहरू बबुल काठका बनाएर सुनले मोहोर्नू। त्‍यो वेदी गवाहीको सन्‍दूक अगाड़ि भएको पर्दाको सामुन्‍ने राख्‍नू, अर्थात्‌ गवाही-पाटीमाथि भएको कृपा-आसनको सामुन्‍ने, जहाँ म तँसित भेट गर्नेछु।” “वेदीमा हारूनले सुगन्‍धित मसलाको धूप प्रत्‍येक बिहान बत्तीहरू सच्‍याउँदा जलाओस्‌। फेरि बेलुकी हारूनले बत्ती बाल्‍दा त्‍यो जलाओस्‌। यसरी आउने पुस्‍ता-पुस्‍तासम्‍म परमप्रभुको सामुन्‍ने त्‍यो निरन्‍तर बल्‍ने धूप हुनेछ। त्‍यस वेदीमा तैंले अरू किसिमको धूप, होमबलि, अन्‍नबलि नचढ़ाउनू, र अर्घ-बलि पनि नचढ़ाउनू। हारूनले वर्षमा एक पल्‍ट त्‍यसका सीङहरूमा प्रायश्‍चित गरोस्‌ अर्थात्‌ तिमीहरूका पुस्‍ता-पुस्‍तासम्‍म वर्षमा एक पल्‍ट प्रायश्‍चितको पापबलिको रगतले त्‍यसमा प्रायश्‍चित गरोस्‌। त्‍यो परमप्रभुको निम्‍ति अति पवित्र हो।”