YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 19:1-15

प्रस्‍थान 19:1-15 NNRV

इस्राएलीहरू मिश्रबाट निक्‍लेका तीन महिना भएपछि— त्‍यही दिनमा तिनीहरू सीनैको उजाड़-स्‍थानमा आइपुगे। जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्‍थानमा आए, त्‍यही पर्वतकै सामुन्‍ने इस्राएलीहरूले छाउनी बनाए। तब मोशा परमेश्‍वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्‍नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्‍नू: ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्‍चै नै सुन्‍यौ र मेरो करार पालन गर्‍यौ भने, सबै जातिहरूमध्‍ये तिमीहरूचाहिँ मेरो बहुमूल्‍य निज धन हुनेछौ। सारा पृथ्‍वी मेरै भए तापनि तिमीहरू मेरो निम्‍ति पूजाहारीहरूको एक राज्‍य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्‍नुपर्ने कुरा यी नै हुन्‌।” अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्‍नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए। परमप्रभुले मोशालाई भन्‍नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तँलाई सधैँ विश्‍वास पनि गरून्‌ भनेर म तँकहाँ बाक्‍लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए। अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्‌। तिनीहरूले आ-आफ्‍ना लुगा धोऊन्, र तेस्रो दिनको निम्‍ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्‍ने परमप्रभु आउनुहुनेछ। तैंले चाहिँ मानिसहरूका निम्‍ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्‍यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्‍छ त्‍यो निश्‍चय नै मारिनेछ। कसैले पनि त्‍यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्‍यसलाई मार्नू। पशु होस्‌ अथवा मानिस, त्‍यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्‍दा तिनीहरू पर्वतसम्‍म आऊन्‌।” मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्‍ना लुगा धोए। तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्‍ति तयार होओ। यौनक्रिया नगर।”