प्रस्थान 19:1-15
प्रस्थान 19:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरू मिश्रबाट निक्लेका तीन महिना भएपछि— त्यही दिनमा तिनीहरू सीनैको उजाड़-स्थानमा आइपुगे। जब तिनीहरू रपीदीमबाट हिड़ेर सीनैको उजाड़-स्थानमा आए, त्यही पर्वतकै सामुन्ने इस्राएलीहरूले छाउनी बनाए। तब मोशा परमेश्वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तैंले यसो भन्नू: ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अब यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गर्यौ भने, सबै जातिहरूमध्ये तिमीहरूचाहिँ मेरो बहुमूल्य निज धन हुनेछौ। सारा पृथ्वी मेरै भए तापनि तिमीहरू मेरो निम्ति पूजाहारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तैंले भन्नुपर्ने कुरा यी नै हुन्।” अनि मोशा तल आए, र मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए, र परमप्रभुले तिनलाई बोल्नू भनी आज्ञा गर्नुभएका यी सबै कुराहरू तिनीहरूका सामु राखिदिए। सारा मानिसहरूले एकसाथ यसो भने, “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” तब मोशाले मानिसहरूको जवाफ परमप्रभुलाई सुनाइदिए। परमप्रभुले मोशालाई भन्नुभयो, “हेर्, म तँसित कुरा गर्दा मानिसहरूले सुनून् र तँलाई सधैँ विश्वास पनि गरून् भनेर म तँकहाँ बाक्लो बादलमा आउनेछु।” तब मोशाले मानिसहरूले भनेका कुरा परमप्रभुलाई सुनाए। अनि परमप्रभुले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्। तिनीहरूले आ-आफ्ना लुगा धोऊन्, र तेस्रो दिनको निम्ति तिनीहरू तयार रहून्, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्ने परमप्रभु आउनुहुनेछ। तैंले चाहिँ मानिसहरूका निम्ति चारैतिर यसो भनेर बार लगाउनू, ‘होशियार बस, तिमीहरू पर्वतमाथि नजानू, र त्यसका सिमाना पनि नछुनू। जसले पर्वत छुन्छ त्यो निश्चय नै मारिनेछ। कसैले पनि त्यसलाई नछुनू, तर ढुङ्गाले वा काँड़ले हानेर त्यसलाई मार्नू। पशु होस् अथवा मानिस, त्यो जीवित रहनेछैन’। तुरही लामो गरी बज्दा तिनीहरू पर्वतसम्म आऊन्।” मोशा पर्वतबाट तल मानिसहरूकहाँ उत्रेर आएपछि, तिनले मानिसहरूलाई शुद्ध गरे, र तिनीहरूले आ-आफ्ना लुगा धोए। तब तिनले मानिसहरूलाई भने, “तेस्रो दिनको निम्ति तयार होओ। यौनक्रिया नगर।”
प्रस्थान 19:1-15 पवित्र बाइबल (NERV)
इस्राएलीहरू मिश्र छोडेर बसाइँ सर्दा तेस्रो महिनामा सीनै मरुभूमिमा पुगे। तिनीहरू रपीदीमबाट सीनै मरुभूमिमासम्म यात्रा गए र तिनीहरूले आफ्नो छाउनी होरेब पर्वतको नजिकै मरुभूमिमा बनाए। तब मोशा परमेश्वरसित भेट गर्न पर्वतमा चढे। परमप्रभुले मोशासित कुरा गर्नु भयो अनि तिनलाई भन्नु भयो, “यी कुराहरू याकूबको ठूलो परिवारलाई भन, ‘तिमीहरूले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ। यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो। तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हुनेछौ।’ मोशा मैले तिमीलाई भनेका कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।” मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो। सबै मानिसहरू राजी हुँदै भने, “परमप्रभुले जे भन्नु हुन्छ हामी गर्ने छौं।” त्यसपछि मोशा फर्केर परमेश्वरकहाँ पर्वतमाथि गए अनि मानिसहरूले भनेका कुरा मोशाले परमप्रभुलाई भने। तब परमप्रभुले मोशालाई भन्नु भयो, “म तिमीकहाँ बाक्लो बादलको रूपमा आउँनेछु। म तिमीसित बोल्नेछु। मैले तिमीसँग कुरा गरेको सबैले सुन्ने छन्। म यसो गर्नेछु जसले गर्दा ती मानिसहरूले तिमीले भनेको कुरा सधैँ विश्वास गर्नेछन्।” त्यसपछि मानिसहरूले भनेका सबै कुराहरू मोशाले परमेश्वरलाई भने। अनि परमप्रभुले मोशालाई भन्नु भयो, “आज र भोलि तिमीले मानिसहरूलाई एक विशेष सभाको निम्ति तयारी राख्नु पर्छ। मानिसहरूले आफ्नो लुगाहरू धुनुपर्छ। अनि तेस्रो दिन मेरो निम्ति तयार होऊ। तेस्रो दिन परमप्रभु सीनै पर्वतमा आउनु हुनेछ अनि सबै मानिसहरूले मलाई देख्नेछन्। तर तिमीले मानिसहरूलाई पर्वतदेखि पर बस्नु भनी भन्नु पर्छ। लाईन लगाऊ ताकि मानिसहरूले लाईन पार नगरून्। यदि कुनै मानिस अथवा पशुले पर्वत स्पर्श गरे त्यो मारिनु पर्छ। त्यसलाई ढुङ्गाले हिर्काएर अथवा काँडले हानेर मार्नु पर्छ। तर त्यसलाई कसैले नछोओस्। तुरही नबजुन्जेल मानिस पर्खि रहनुपर्छ तब मात्र मानिसहरूमाथि पर्वतमा जान सक्छन्।” यसर्थ मोशा पर्वतबाट तल झरे अनि मानिसहरू भएको ठाउँमा गए। तिनले मानिसहरूलाई विशेष सभाको निम्ति तयार पारे अनि तिनीहरूले आ-आफ्नो लुगा धोए। तब मोशाले मानिसहरूलाई भने, “तीन दिनपछि परमेश्वरसित हुने सभाको निम्ति तयार बस। त्यस समयसम्म पुरूषहरूले स्त्रीहरूलाई छुनु हुँदैन।”
प्रस्थान 19:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरू रपीदीमबाट हिँडे र मिश्रदेश छोडेको तेस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा आइपुगे। त्यहाँ सीनै पर्वतको फेदीमा तिनीहरूले डेरा हाले। मोशा परमेश्वरसित भेट गर्न पर्वतमाथि चढे। परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्तान इस्राएलीहरूलाई यसो भन्न लाउनुभयो, “म परमप्रभुले मिश्रीहरूलाई के गरें, कसरी मैले तिमीहरूलाई गरुडले आफ्ना चल्ला पखेटामा बोकेझैँ उचालेर बोकें र यहाँ मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। अब तिमीहरूले मेरो आज्ञा मान्यौ र मेरो करार पालन गर्यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, मेरो निम्ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।” मोशा पर्वतबाट तल ओर्लेर आए र इस्राएलीहरूका अगुवाहरूलाई भेला गरेर परमप्रभुले आफूलाई आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए। तब सबै मानिसहरूले एकसाथ मिलेर भने, “परमप्रभुले आज्ञा गर्नुभएको हरेक कुरा हामी गर्नेछौं।” यो कुरा मोशाले परमप्रभुलाई सुनाए। परमप्रभुले मोशालाई भन्नुभयो, “म बाक्लो बादलभित्र भएर तँकहाँ आउनेछु र मानिसहरूले म तँसित बोलेको सुन्नेछन् र अबदेखि उसो तँलाई विश्वास गर्नेछन्।” मानिसहरूले के उत्तर दिएका थिए, त्यो मोशाले परमप्रभुलाई सुनाए र उहाँले मोशालाई भन्नुभयो, “मानिसहरूकहाँ गएर भन् कि मलाई पुज्नको निम्ति आज र भोलि तिनीहरूले आफैंलाई चोख्याउने काम गरून्। आफ्ना लुगाफाटा धोएर पर्सि तिनीहरू तयार हुनुपर्नेछ। त्यस दिन म सीनै पर्वतमा उत्रनेछु। सबैले त्यहाँ मलाई देख्न सक्नेछन्। पर्वतको चारैपट्टि मानिसहरूले ननागून् भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्नू, त्यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्यो भने त्यो मारिनेछ, त्यसलाई कसैले नछोई ढुङ्गाले वा काँडले हान्नू। यो कुरा मानिस वा पशु दुवैमाथि लागू हुनेछ अनि पर्वतमा पाइलो टेक्ने सबै निश्चय मारिनेछन्। तर जब तुरही बज्नेछ, तब मानिसहरू पर्वतसम्म आऊन्।” तब मोशा पर्वतबाट तल ओर्ले र परमेश्वरलाई पुज्न मानिसहरूलाई तयार हुन आदेश दिए। तिनीहरूले आफ्नो लुगाफाटा धोए। त्यसपछि मोशाले तिनीहरूलाई भने, “पर्सिसम्म तयार हुनू र यस बीचमा स्त्रीहरूलाई नछुनू।”