परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूमध्येका मानिस र पशुका गर्भका प्रथम फल, अर्थात् पहिले जन्मेका सबै नरहरूलाई मेरो निम्ति अर्पण गर्। ती मेरा हुन्।” तब मोशाले मानिसहरूलाई भने, “दासत्वको देश, मिश्रबाट निस्केर आएको यस दिनको तिमीहरूले सम्झना राख, किनकि परमप्रभुले आफ्नो बाहुलीको शक्तिले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो। यस दिन खमिर हालेको कुनै रोटी नखाइओस्। आबीब महिनाको आजकै दिनमा तिमीहरू निस्केर जाँदैछौ। जब परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देश, अर्थात् दूध र मह बग्ने देशमा ल्याउनुहुनेछ, जुन देश उहाँले तिमीहरूका पिता-पुर्खासित ‘म दिन्छु’ भन्ने शपथ खानुभएको थियो, तब यही महिनामा यो चाड़ मान्नू। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड़ मनाउनू। ती सात दिनसम्म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’। परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ, किनकि परमप्रभुले आफ्नो शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको हो। यो विधि वर्षेनी ठहराइएको समयमा मान्ने गर्नू। “जब परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खासित शपथ खाएर प्रतिज्ञा गर्नुभएबमोजिम कनानीहरूको देशमा तिमीहरूलाई पुर्याएर त्यो देश तिमीहरूलाई दिनुहुनेछ, तब हरेक गर्भको प्रथम फल परमप्रभुलाई दिनू। तिमीहरूका पशुहरूबाट पहिले बियाएका सबै नरहरूचाहिँ परमप्रभुको निम्ति हुनेछन्। पहिले बियाएको बछेड़ोलाई एउटा पाठो दिएर छुटाउनू, तर त्यो छुटाएनौ भने त्यसको घाँटी भाँचिदिनू। आफ्ना छोराहरूमध्ये जेठालाई छुटाउनू। “जब भविष्यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्नेछ, तब तिमीहरूले त्यसलाई भन्नू, परमप्रभुले हामीलाई दासत्वको देश, मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। जब फारोले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिश्रमा सबै मानिस र पशु दुवैका पहिले जन्मेकालाई मार्नुभयो। यसैकारण हरेक गर्भको पहिलो बियाएको पाठालाई परमप्रभुको निम्ति बलिदान गर्दछु, र मेरा छोराहरूमध्येका जेठालाई चाहिँ छुटाउँछु। यो परमप्रभुले हामीलाई आफ्नो शक्तिशाली बाहुलीले मिश्रबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूका निम्ति हातमा भएको एउटा चिन्ह र निधारमा भएको एउटा सङ्केत हुनेछ।”
प्रस्थान 13 पढ्नुहोस्
सुन्नुहोस् प्रस्थान 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 13:1-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू