मोर्दकैले तिनलाई घुँड़ा टेकी दण्डवत् नगरेको कुरा हामानले थाहा पाएर तिनी रीसले चूर भए। हामानले मोर्दकैका जात-भाइ को रहेछन् भनी थाहा पाएपछि तिनलाई मात्र हात हाल्न मन गरेनन्, र अहासूरसको समस्त राज्यका सबै यहूदीहरू, मोर्दकै र उनका सबै जातिलाई नै नाश गर्ने उपाय तिनले खोज्न लागे। अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्नका निम्ति उनीहरूले चिट्ठा हाले। त्यस चिट्ठालाई “पूर” भन्थे। चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पर्यो। तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ। तिनीहरू अलग्गै बस्छन्। तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्दा बेग्लै छन्। तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन्। हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन। यदि महाराजाको इच्छा भए तिनीहरूका विनाशको निम्ति एउटा लिखित आज्ञा निकालिबक्सिओस्। यो काम गर्ने हजूरका कर्मचारीहरूका लागि म राजकोषमा जम्मा गर्न तीन लाख किलो चाँदी दिनेछु।” तब राजाले आफ्नो छाप-औँठी आफ्नो औँलाबाट झिकेर यहूदीहरूको शत्रु अगागी हम्मदाताका छोरा हामानलाई दिए। उनले हामानलाई भने, “त्यो चाँदी आफूसँग राख। ती मानिसहरूप्रति तिमीलाई जे इच्छा लाग्छ त्यही गर।” तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरू बोलाइए। अनि हामानको आदेशअनुसार राजाका प्रान्तका बड़ाहाकिमहरू, विभिन्न प्रान्तका राज्यपालहरू र विभिन्न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाइयो— हरेक प्रान्तमा त्यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्नै भाषामा त्यो पठाइयो। राजा अहासूरसको नाउँमा त्यो निकालियो, र राजाकै छाप त्यसमा लगाइएको थियो। यसरी अदार भन्ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्त यहूदीहरूलाई, जवान, बूढ़ा, स्त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो।
एस्तर 3 पढ्नुहोस्
सुन्नुहोस् एस्तर 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 3:5-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू