YouVersion लोगो
खोज आइकन

उपदेशक 9:1-12

उपदेशक 9:1-12 NNRV

यी सबै कुरामा मैले विचार गरें र यही निष्‍कर्षमा पुगें कि धर्मात्‍मा र बुद्धिमान्‌हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्‍वरकै हातमा हुँदारहेछन्‌। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्‍दैन। किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ। सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌। बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो। किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ। तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन। आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ। सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ। परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ। तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ। सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌। त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।