YouVersion लोगो
खोज आइकन

उपदेशक 9:1-12

उपदेशक 9:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यी सबै कुरामा मैले विचार गरें र यही निष्‍कर्षमा पुगें कि धर्मात्‍मा र बुद्धिमान्‌हरू र तिनीहरूले गर्ने गरेका सारा क्रियाकलाप परमेश्‍वरकै हातमा हुँदारहेछन्‌। तर कुनै मानिसले पनि आफूलाई प्रेम वा घृणा केले प्रतीक्षा गरिरहेको छ सो जान्‍दैन। किनभने धर्मात्‍मा र दुष्‍ट, असल र खराब, शुद्ध र अशुद्ध, बलि चढ़ाउनेहरू र बलि नचढ़ाउनेहरू सबै सामान्‍य अन्‍त्‍यका साझेदार हुन्‍छन्‌। असल मानिसलाई झैँ पापीलाई पनि हुन्‍छ। शपथ खानेहरूलाई झैँ शपथ खान डराउने मानिसहरूलाई पनि हुन्‍छ। सूर्यमुनि हुने प्रत्‍येक काममा दुष्‍टता छ। सबैलाई एकै अन्‍त्‍य आइपर्छ। मानिसहरूका हृदय दुष्‍टताले भरिएका हुन्‍छन्, र तिनीहरूका जीवनकालभरि नै तिनीहरूका हृदय पागलपनाले भरिन्‍छन्, अनि त्‍यसपछि तिनीहरू मरेकाहरूसँग मिल्‍नजान्‍छन्‌। बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्‍छ। जिउँदो कुकुरको स्‍थिति मरेको सिंहको भन्‍दा असल हो। किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्‍दछन्, तर मरेकाहरूले त केही पनि जान्‍दैनन्‌। तिनीहरूका निम्‍ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्‍झना पनि लोप हुन्‍छ। तिनीहरूका प्रेम, घृणा, ईर्ष्‍या सबै लोप भएका हुन्‍छन्‌। सूर्यमुनि गरिएको कुनै काममा तिनीहरूको फेरि कहिल्‍यै भाग हुँदैन। आफ्‍नो बाटो लाग, आफ्‍नो खानेकुरा आनन्‍दसँग खाऊ, खुशी मनले आफ्‍नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्‍वरको निगाह रहेको छ। सधैँ सेतो वस्‍त्र पहिराऊ, र कपालमा तेल लगाऊ। परमेश्‍वरले सूर्यमुनि दिनुभएको यस व्‍यर्थ जीवनकालमा आफूले प्रेम गरेकी पत्‍नीसँग जीवनको सुख-भोग गर। किनभने यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रममा तिम्रो भाग त्‍यही नै हुन्‍छ। तिम्रो हातमा जे काम छ त्‍यो आफ्‍नो पूरा शक्तिले गर, किनभने चिहानमा, जहाँ तिमी जान्‍छौ, त्‍यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान, न बुद्धि नै हुन्‍छ। सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमान्‌लाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन्‌। त्‍यसबाहेक आफ्‍नो काल कहिले आउँछ भनी कुनै मानिसले जान्‍दैन। माछा निर्दयी जालमा र चरा पासोमा परेझैँ मानिसहरू पनि नसोच्‍दै दुर्दशामा फेला पर्छन्‌।

शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्

उपदेशक 9:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण मैले यी सबै कुरामा सोचविचार गरेँ, र यो निष्कर्षमा पुगेँ: धर्मी र बुद्धिमान् र तिनका कामहरू परमेश्‍वरका हातमा छन्; तर कुनै पनि मानिसलाई प्रेम वा घृणा कुन चाहिँले त्यसलाई पर्खिराखेको हुन्छ भनेर थाहा हुँदैन। सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब, औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको। जस्तो असल मानिसमाथि जे आइपर्छ, त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ; शपथ खानेहरूमाथि जस्तो हुन्छ; त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ। सूर्यमुनि जे जति कुराहरू हुन्छन्, ती सबैमा दुष्‍टता छ: सबैको एउटै गन्तव्य हुन्छ। यसकासाथै मानिसहरूका हृदय खराबीले भरिएका हुन्छन्। तिनीहरू बाँचुन्जेल तिनीहरूका मन पागलपनाले भरिन्छ; त्यसपछि ती सबै मरेकाहरूकहाँ जान्छन्। जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो! किनभने जिउँदाहरूले उनीहरू मर्नेछन् भनेर जान्दछन्; तर मरेकाहरूले केही जान्दैनन्; न त तिनीहरूले केही प्रतिफल नै पाउनेछन्; र तिनीहरूका नामको सम्झना पनि हराउँछ। तिनीहरूका प्रेम, घृणा र तिनीहरूका ईर्ष्या धेरै समयअगि नै लोप भएका छन्; सूर्यमुनि जे गरिन्छ त्यसमा, फेरि तिनीहरूको कहिल्यै केही भाग हुनेछैन। आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्‍वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ। सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ। आफ्नी पत्नीसँग जीवनको आनन्द लेओ, जसलाई तिमी प्रेम गर्छौ, यस अर्थहीन जीवनका सारा दिनहरू, जुन परमेश्‍वरले तिमीलाई सूर्यमुनि दिनुभएको छ—सबै अर्थहीन दिनहरूमा आनन्द भोग गर। किनकि यस जीवनमा र सूर्यमुनि तिमीले गरेको परिश्रमको भाग त्यही हो। तिम्रा हातले जे काम गर्न सक्छ, त्यो आफ्नो पूरा शक्तिले गर; किनकि चिहानमा, जहाँ तिमी जान्छौ, त्यहाँ न कुनै काम, न त केही योजना; न ज्ञान, न त बुद्धि नै हुनेछ। मैले सूर्यमुनि अर्को एउटा कुरा देखेको छु: न त दौड चाँडो दगुर्नेको निम्ति हुन्छ, अथवा न त युद्ध बलियाका निम्ति नै हुन्छ, न बुद्धिमान्‌ले भोजन पाउँछ; न त प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपादृष्‍टि नै पाउँछ; तर ती सबै जनाले समय र मौका पाउँदछन्। यसबाहेक कुनै पनि मानिसले आफ्नो समय कहिले आउनेछ भनी जान्दैन; माछा निर्दयी जालमा परेझैँ, अथवा चराचुरुङ्गीहरू पासोमा फसेझैँ, मानिसहरू दुर्दशाको पासोमा पर्दछन्; ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्।

शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्

उपदेशक 9:1-12 पवित्र बाइबल (NERV)

मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखें, भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ। तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, मृत्यु दुष्ट मानिसलाई पनि आउँछ, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि मृत्यु आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ। यस जीवनमा जति पनि घट्ना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजान्छ। प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि: एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो। जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्। कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस् त्यसको कुनै भाग लिने होइन। लिन सकुन्जेल जीवनको आनन्द लेऊ। अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ। राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। तिम्रो पत्नीसँग जीवनको सुख-भोग गर, जसलाई तिमी प्रेम गर्छौ यो संसारमा परमेश्वरले तिमीलाई छोटो जीवन दिनुभएकोछ। यो तिम्रो भाग हो। यसर्थ यस जीवनमा गर्नुपर्ने काममा आनन्द उपभोग गर। हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं। यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैँ दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैँ जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैँ खान पाउँदैन, ज्ञानी मानिसले सधैँ सम्पत्ति पाउँदैन; अनि विवेकशील मानिसले सधैँ प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आउँछ। कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्

उपदेशक 9:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यी सबै कुरामा मैले लामो र खुब विचार गरें र देखें कि परमेश्‍वरले बुद्धिमान् र धर्मी मानिसका काम-कारवाइ, तिनीहरूका प्रेम र घृणा पनि उहाँका वशमा राख्‍नुहुन्‍छ। आफ्‍नो भविष्‍यमा के छ, त्‍यो कसैले जान्‍दैन। त्‍यसले केही फरक पार्दैन। धर्मी र अधर्मी, असल र खराब, शुद्ध र अशुद्ध बलिदान चढाउने र नचढाउने सबैको भाग्‍य एउटै हो। पापीलाई भन्दा असल मानिसलाई केही कुरामा लाभ हुँदैन, भाकल गर्ने मानिसलाई नगर्नेलाई भन्दा केही भलाइ हुँदैन। सबैको भाग्‍य एउटै हो र यो पनि संसारका अरू कुरा जत्तिकै बेठीक हो। संसारमा मानिस रहुन्जेल तिनका मन दुष्‍टता र पागलपनाले भरिएका हुन्‍छन् र तिनीहरू अचानक मरिजान्‍छन्। तर जिउँदाहरूका संसारमा बाँचिरहेको मानिसको लागि भने केही आशा छ। एउटा जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो। जिउँदाले हामी मर्नेछौं भनी जान्‍दछन्, तर मुर्दाले केही पनि जान्‍दैन। तिनीहरूले पाउनुपर्ने कुरा अरू केही छैन, तिनीहरूलाई सबैले बिर्सिनेछन्। तिनीहरूका माया-मोह, घृणा र भावनाहरू तिनीहरूसितै मरिजान्‍छन्। तिनीहरूले फेरि कहिल्‍यै संसारमा गरिएका काममा भाग लिनेछैनन्। आफ्‍नो बाटोमा अघि बढ, भोजन खाएर आनन्‍द मनाओ, मद्य पिएर हर्षित होओ। परमेश्‍वरले तिम्रो कामलाई सहमति दिनुभएको छ। सधैँ खुसी र हर्षित देखा पर। जहिलेसम्‍म परमेश्‍वरले तिमीलाई यस संसारमा यो व्‍यर्थको जीवन दिनुहुन्‍छ, तहिलेसम्‍म आफूले प्रेम गरेको पत्‍नीसित आनन्‍द-खुसीमा जीवन बिताओ। जीवनका प्रत्‍येक व्‍यर्थको दिन सुख-भोग गरेर काट किनभने आफ्‍ना सारा कष्‍टका सट्टामा तिमीले पाउने कुरा त्‍यति मात्र हो। जे काम गर्छौ, त्‍यसमा खुब मेहनत गर किनभने मृत्‍युको देशमा केही काम सोच-विचार, ज्ञान वा बुद्धि हुनेछैन र तिमी त्‍यहीँ गइरहेका छौ। मैले अर्को एउटा कुरा देखेको छु। दौडमा सधैँ चाँडो दगुर्नेहरूले दौड जित्‍दैनन् र वीरहरूले सधैँ लडाइँ जित्‍दैनन्। बुद्धिमान् मानिसहरूले सधैँ पेटपालनको मेलो गर्न सक्‍दैनन्, चतुर मानिसहरूले सधैँ धन कमाउन सक्‍दैनन् र योग्‍य मानिसहरू सधैँ उच्‍च दर्जामा पुग्‍दैनन्। बेला र मौका सबैमाथि आउन सक्‍छ। त्‍यो समय कहिले आइपर्छ, तिमी जान्‍दैनौ। आफूले नचिताएको बेला चरा पासोमा परेझैँ वा माछा जालमा परेझैँ अचानक हामीमाथि दुर्दशा आइपर्छ।

शेयर गर्नुहोस्
उपदेशक 9 पढ्नुहोस्