YouVersion लोगो
खोज आइकन

व्यवस्था 18:14-22

व्यवस्था 18:14-22 NNRV

तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्‍छन्‌। तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका आफ्‍नै दाजुभाइमध्‍येबाट मजस्‍तै एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू। किनकि “अब उप्रान्‍त परमप्रभु हाम्रा परमेश्‍वरको सोर सुन्‍नु नपरोस्‌ र यो डरलाग्‍दो अग्‍नि कहिल्‍यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्‍वरसँग तिमीहरूले यही बिन्‍ती गरेका थियौ। परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले ठीकै भनेका छन्‌। तिनीहरूका निम्‍ति तिनीहरूका दाजुभाइमध्‍येबाट तँजस्‍तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्‍नेछन्‌। ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्‍नेको लेखा म लिनेछु। तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्‍ने वा अन्‍य देवताको नाउँमा बोल्‍ने अगमवक्ता मारिनुपर्छ।” तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्‍ने?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्‍य ठहरेन भने, त्‍यो परमप्रभुले भन्‍नुभएको वचन होइन। सो त्‍यही अगमवक्ताको मनगढ़न्‍त कुरा हो। तिमीहरू त्‍यसदेखि नडराउनू।