YouVersion लोगो
खोज आइकन

दानिएल 7:15-28

दानिएल 7:15-28 NNRV

“म, दानिएल, आत्‍मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्‍याए। त्‍यहाँ उभिएकाहरूमध्‍ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्‍य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए: ‘चार ठूला पशुहरूचाहिँ पृथ्‍वीमा खड़ा हुने चार राज्‍यहरू हुन्‌। तर सर्वोच्‍चका पवित्र जनहरूले यो राज्‍य पाउनेछन्‌ र सदासर्वदाको लागि अधिकार गर्नेछन्‌— हो, सदासर्वदाको लागि’। “तब मैले त्‍यो चौथो जनावरको साँचो अर्थ जान्‍न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्‌ग्रा भएको अरूभन्‍दा फरक र अत्‍यन्‍तै डरलाग्‍दो थियो— त्‍यो जनावर जसले आफ्‍नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्‍चीमिल्‍ची पार्‍यो। मैले त्‍यसको टाउकोमा भएका दश सीङका बारेमा र त्‍यहाँबाट निस्‍केको अर्को सीङको बारेमा पनि जान्‍न चाहें, जसको सामु तीमध्‍ये तीन वटा सीङ झरे— त्‍यो सीङ जो अरूभन्‍दा प्रभावशाली देखिन्‍थ्‍यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए। जसै मैले हेरें, त्‍यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्‍त गर्दैथियो, जबसम्‍म ती अति प्राचीन आएर सर्वोच्‍चका पवित्र जनहरूको पक्षमा इन्‍साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्‍य अधिकार गरे। “तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्‍वीमा देखा पर्ने चौथो राज्‍य हो। योचाहिँ अरू राज्‍यहरूभन्‍दा फरक हुनेछ र समस्‍त पृथ्‍वीलाई कुल्‍चीमिल्‍ची पारी निल्‍नेछ। दश सीङहरू त्‍यस राज्‍यबाट आएका दश राजाहरू हुन्‌। त्‍यसपछि पहिलेको भन्‍दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ। उसले सर्वोच्‍चको विरुद्धमा बोल्‍नेछ र उहाँका पवित्र जनहरूलाई अत्‍याचार गर्नेछ र ठहर्‍याइएका समय र व्‍यवस्‍थाहरू फेर्न प्रयत्‍न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्‍म उसको हातमा सुम्‍पिइनेछन्‌। “तर अदालत बस्‍नेछ, र त्‍यसको अधिकार खोसिनेछ र सदाको निम्‍ति पूर्ण रूपले नाश गरिनेछ। तब सम्‍पूर्ण स्‍वर्गमुनिका राज्‍यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्‍चका मानिसहरू, अर्थात्‌ पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्‍य अनन्‍तको राज्‍य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्‌। “कुराको अन्‍त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्‍यन्‍तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्‍नो मनैमा राखें।”