दानिएल 7:15-28
दानिएल 7:15-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म, दानिएल, आत्मामा बेचैन भएँ, र मैले पाएका दर्शनहरूले मलाई विचलित तुल्याए। त्यहाँ उभिएकाहरूमध्ये एक जनाकहाँ म गएँ र यी सबै कुराको सत्य अर्थ बताउन अनुरोध गरें। “यसकारण उनले मलाई यी कुराको अर्थ बताइदिए: ‘चार ठूला पशुहरूचाहिँ पृथ्वीमा खड़ा हुने चार राज्यहरू हुन्। तर सर्वोच्चका पवित्र जनहरूले यो राज्य पाउनेछन् र सदासर्वदाको लागि अधिकार गर्नेछन्— हो, सदासर्वदाको लागि’। “तब मैले त्यो चौथो जनावरको साँचो अर्थ जान्न चाहें, जुनचाहिँ फलामका दाँत र काँसाका नङ्ग्रा भएको अरूभन्दा फरक र अत्यन्तै डरलाग्दो थियो— त्यो जनावर जसले आफ्नो शिकारलाई चपाएर खाइदियो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्यो। मैले त्यसको टाउकोमा भएका दश सीङका बारेमा र त्यहाँबाट निस्केको अर्को सीङको बारेमा पनि जान्न चाहें, जसको सामु तीमध्ये तीन वटा सीङ झरे— त्यो सीङ जो अरूभन्दा प्रभावशाली देखिन्थ्यो र जसका आँखा र अभिमानपूर्ण कुरा गर्ने मुख थिए। जसै मैले हेरें, त्यो सीङ पवित्र जनहरूका विरुद्ध लड़ाइँ गर्दैथियो र तिनीहरूलाई परास्त गर्दैथियो, जबसम्म ती अति प्राचीन आएर सर्वोच्चका पवित्र जनहरूको पक्षमा इन्साफको घोषणा गरे, अनि समय आयो जब तिनीहरूले राज्य अधिकार गरे। “तिनले मलाई यसरी बताए: ‘चौथो जनावरचाहिँ पृथ्वीमा देखा पर्ने चौथो राज्य हो। योचाहिँ अरू राज्यहरूभन्दा फरक हुनेछ र समस्त पृथ्वीलाई कुल्चीमिल्ची पारी निल्नेछ। दश सीङहरू त्यस राज्यबाट आएका दश राजाहरू हुन्। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खड़ा हुनेछ। उसले तीन राजाहरूलाई दबाउनेछ। उसले सर्वोच्चको विरुद्धमा बोल्नेछ र उहाँका पवित्र जनहरूलाई अत्याचार गर्नेछ र ठहर्याइएका समय र व्यवस्थाहरू फेर्न प्रयत्न गर्नेछ। पवित्र जनहरू साढ़े तीन वर्षसम्म उसको हातमा सुम्पिइनेछन्। “तर अदालत बस्नेछ, र त्यसको अधिकार खोसिनेछ र सदाको निम्ति पूर्ण रूपले नाश गरिनेछ। तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू, अर्थात् पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ, र सबै शासकहरूले उहाँको आराधना र आज्ञापालन गर्नेछन्। “कुराको अन्त यही हो। म, दानिएल, मेरा विचारहरूले गर्दा अत्यन्तै बेचैन भएँ, र मेरो अनुहार पहेँलो भयो, तर मैले यो कुरा आफ्नो मनैमा राखें।”
दानिएल 7:15-28 पवित्र बाइबल (NERV)
“मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ। त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो। उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ। तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा-सर्वदाका निम्ति त्यो कायम रहने छ।’ “त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो। त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें। मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो। जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो। “उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ। त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ। त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बदल्ने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन बर्ष राज्यको शक्ति सुम्पिदिनेछन्। “‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ। अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’ “बिवरण यहीं अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”
दानिएल 7:15-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले पाएका दर्शनहरूले म साह्रै डराएँ र व्याकुल भएँ। त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाकहाँ म गएँ र त्यसको अर्थ खोलिदिन बिन्ती गरें। उनले मलाई अर्थ बताइदिए र भने, “यी चार ठूल्ठूला जन्तुहरू संसारमा स्थापित हुने चार राज्यहरू हुन्। अनि सर्वोच्च परमेश्वरका प्रजाहरूले राज्य-शक्ति पाउनेछन् र सदासर्वदा त्यो आफ्ना हातमा राख्नेछन्।” त्यसपछि मैले चौथो जन्तुबारे अझ धेरै जान्ने मन गरें, जुनचाहिँ अरू जन्तुहरूजस्तो थिएन। त्यो एउटा डरलाग्दो जन्तु थियो, जसले आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राहरूले शिकार कर्याक-कुरुक पार्थ्यो र त्यसपछि पैतालाले कुल्चन्थ्यो। त्यसको टाउकाका दश वटा सिङहरू र पछिबाट ती सिङका बीचमा पलाएको एउटा सिङ, जसले पहिलेका तीन वटा सिङहरू उखेलिदिएको थियो, ती सबैको विषयमा म जान्न चाहन्थें। त्यसका आँखा र मुख थिए अनि त्यो मुखले घमण्डका कुराहरू गर्दथ्यो। त्यो अरू जन्तुहरूभन्दा ज्यादै डरलाग्दो थियो। मैले हेर्दाहेर्दै त्यस सिङले परमेश्वरका पवित्र जनहरूसित लडाइँ गर्यो र तीमाथि विजयी भयो। त्यसपछि ती अमर जीवन भएको व्यक्ति आए र उनले सर्वोच्च परमेश्वरका पवित्र जनहरूका पक्षमा न्यायको निर्णय दिए। परमेश्वरका पवित्र जनहरूले राज्य-शक्ति पाउने समय आइपुगेको थियो। मलाई त्यसको अर्थ यसरी बुझाइयो, “त्यो चौथो जन्तु चौथो राज्य हो, त्यो राज्य पृथ्वीमा स्थापित हुनेछ र त्यो अरू सबै राज्यहरूभन्दा भिन्नै हुनेछ। त्यसले सारा पृथ्वीलाई मर्याकमुरुक पारेर पैतालाले कुल्चनेछ। दश वटा सिङचाहिँ त्यो साम्राज्यमाथि शासन गर्ने दश राजाहरू हुन्। त्यसपछि अर्को एक जना राजा खडा हुनेछ, त्यो अघिअघिका राजाहरूभन्दा भिन्नै हुनेछ र त्यसले तीन जना राजाहरूलाई पराजित गर्नेछ। त्यसले सर्वोच्च परमेश्वरको विरुद्धमा बोल्नेछ र त्यसले परमेश्वरका पवित्र जनहरूलाई सताउनेछ। त्यसले धार्मिक नियम र चाडहरू हेरफेर गर्ने कोसिस गर्नेछ अनि साढे तीन वर्षसम्म परमेश्वरका पवित्र जनहरू त्यसको वशमा रहनेछन्। तब स्वर्गीय न्यायको दरबारमा बस्नेछ र त्यसको शक्ति खोसेर त्यसलाई पूरा नाश पारिनेछ। पृथ्वीका सबै राज्यहरूका शक्ति र महान्ता सर्वोच्च परमेश्वरका पवित्र जनहरूको हातमा दिइनेछ। उहाँको राज्य-शक्तिको कहिल्यै अन्त्य हुनेछैन र पृथ्वीका सबै शासकहरूले उहाँको सेवा गर्नेछन् र आज्ञापालन गर्नेछन्।” मेरो वर्णन यहीँ अन्त्य हुन्छ। म यति साह्रो तर्सें कि म पहेंलै भएँ र यी सबै कुरा मैले मेरो मनमै राखें।