तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्ता गर्दैनन्। उनी अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्दछन्।” जब राजाले यो कुरा सुने, उनी अत्यन्त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्तसम्मै हरप्रयास गरे। त्यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस् कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्लन सकिँदैन।” यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई छुटकारा देऊन्!” खोरको मुखमा एउटा ढुङ्गा ल्याएर राखियो, र दानिएलको अवस्थामा कुनै परिवर्तन नहोस् भनेर राजाले आफ्नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए। तब राजा आफ्नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्जनविना नै उनले त्यो रात बिताए। अनि उनलाई निद्रा लागेन। बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्! मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन्, किनभने उहाँको दृष्टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्ती गरेको छैनँ।” राजा अत्यन्तै खुशी भएर दानिएललाई खोरबाट निकाल्ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्ना परमेश्वरमाथि भरोसा गरेका थिए।
दानिएल 6 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:13-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू