दानिएल 6:13-23

दानिएल 6:13-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।” जब राजाले यो कुरा सुने, उनी अत्‍यन्‍त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्‍तसम्‍मै हरप्रयास गरे। त्‍यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस्‌ कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्‌लन सकिँदैन।” यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई छुटकारा देऊन्!” खोरको मुखमा एउटा ढुङ्गा ल्‍याएर राखियो, र दानिएलको अवस्‍थामा कुनै परिवर्तन नहोस्‌ भनेर राजाले आफ्‍नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए। तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन। बिहान झिसमिसेको पहिलो किरणमा नै राजा उठेर आतुरीसाथ सिंहको खोरतिर गए। जब उनी सिंहको खोरको नजिक आइपुगे, उनले दानिएललाई वेदनापूर्ण स्‍वरमा बोलाए, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूबाट बचाउनुभएको छ?” दानिएलले उत्तर दिए, “महाराजा अमर रहून्‌! मेरा परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख थुनिदिनुभयो। तिनीहरूले मलाई कुनै चोट पुर्‍याएका छैनन्, किनभने उहाँको दृष्‍टिमा म निर्दोष भेट्टाइएँ। महाराजा, हजूरको सामु पनि मैले कुनै गल्‍ती गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुशी भएर दानिएललाई खोरबाट निकाल्‍ने आज्ञा दिए। अनि जब दानिएल खोरबाट निकालिए, तिनमा कुनै पनि चोट पाइएन, किनभने तिनले आफ्‍ना परमेश्‍वरमाथि भरोसा गरेका थिए।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:13-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब तिनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देश निष्कासित भएकाहरूमध्ये एक जना दानिएलले हजुरप्रति, अथवा हजुरले लिखित रूपमा निकाल्नुभएको उर्दी पालन गरेको छैन। त्यसले अझै पनि दिनमा तीन पल्ट प्रार्थना गर्छ।” जब राजाले यो कुरा सुने, तिनी अति दुःखित भए; दानिएललाई छुटाउने सङ्कल्प गरेर सूर्यास्त नभएसम्म तिनलाई बचाउने हर किसिमको प्रयास गरिरहे। तब ती मानिसहरू एक समूह भएर राजाकहाँ गएर भने, “हे महाराजा, याद होस्, कि मादीहरू र परसीयनहरूका विधि-विधानअनुसार राजाले जारी गरेको कुनै पनि उर्दी अथवा आदेश बदली हुन सक्दैन।” यसकारण राजाले हुकुम दिए, र तिनीहरूले दानिएललाई ल्याए; अनि तिनलाई सिंहको खोरभित्र फालिदिए। अनि राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्‍वरले नै तिमीलाई बचाऊन्।” अनि एउटा ढुङ्गा ल्याइयो र सिंहको खोरको मुखमा राखियो; तब राजाले आफ्नो औँठीको छाप र उनका भारदारहरूका औँठीहरूका छाप लगाए, ताकि दानिएलको अवस्था परिवर्तन नहोस्। त्यसपछि राजा आफ्नो राजमहलमा फर्के, र केही नखाईकन र तिनीकहाँ ल्याइएका कुनै पनि मनोरञ्जनहरूमा रमाइलो नगरी रात बिताए। तिनी रातभरि नै सुत्न सकेनन्। बिहानको झिसमिसे उज्यालोमै राजा उठे, र हतार-हतार गरेर सिंहको खोरमा गए। जब तिनी खोरको नजिक आए, तब तिनले शोकले भरिएको सोरमा दानिएललाई बोलाए, “हे जीवित परमेश्‍वरका सेवक दानिएल, तिमीले लगातार सेवा गर्दैआएका तिम्रा परमेश्‍वरले के तिमीलाई सिंहहरूबाट छुटाउन सक्नुभएको छ?” दानिएलले जवाफ दिए, “महाराजा, अमर रहून्! मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूत पठाउनुभयो, र उहाँले सिंहहरूका मुख बन्द गरिदिनुभयो। तिनीहरूले मलाई चोट पुर्‍याएका छैनन्; किनकि म उहाँको दृष्‍टिमा निर्दोष भेट्टाइएको छु। हे महाराजा, मैले हजुरको सामु कुनै गल्ती गरेको छैनँ।” राजाले अति आनन्दित भएर दानिएललाई सिंहको खोरबाट माथि तानेर निकाल्ने हुकुम दिए। अनि जब दानिएल खोरबाट बाहिर निकालिए, तिनका शरीरमा कुनै पनि चोट पाइएन; किनकि तिनले आफ्नो परमेश्‍वरमाथि भरोसा राखेका थिए।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:13-23 पवित्र बाइबल (NERV)

यसपछि तिनीहरूले राजालाई भने, “निकालावास भएको यहूदीहरू मध्ये एकजना दानियलले तपाईंले बनाउनु भएको कानूनको वास्ता गरेनन्। तिनले आफ्ना परमेश्वरलाई दिनमा तीन पल्ट बिन्ती प्रार्थना गर्छन्।” जब राजाले यो खबर सुने तिनी अत्यन्तै दु:खी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुन्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे। तब मानिसहरूले मौका पाए अनि राजाकहाँ आएर भने, “हे महाराज तपाईंलाई यो थाहा छ कि मादीहरूको र फारसीहरूको कानून कहिले पनि बद्ली हुँदैन, राजाले यो कानून बद्ली गर्न सक्तैनन्।” तब राजाले तिनीहरूलाई दानियललाई सिंहको खोरमा फ्याँक्ने आदेश दिए। राजाले दानियललाई भने, “म विश्वास गर्छु परमेश्वरले जसलाई तिमी सधैँ आराधना गर्छौ, तिमीलाई बचाउँन्।” त्यसपछि तिनीहरूले एउटा ठुलो ढुङ्गा ल्याएर सिंहको खोरमा राखे अनि राजाको लाल मोहर, मन्त्रि र शासकहरूको लाल मोहर लगाई दिए जसद्वारा त्यो ढुङ्गालाई कसैले हटाउन अनि खोरबाट दानियललाई बचाउँन नसकोस्। तब राजा दारा आफ्नो महलमा गए। तिनीले त्यो रात खाएनन् अनि सुतेनन् र कसैलाई पनि त्यहाँ आउन दिएनन्। बिहान झिसमिसे उज्यालोमा राजा उठेर डरले काम्दै सिंहको खोरमा गए। राजा खोरको छेउमा गएर दानियललाई कराएर भने, “हे दानियल जीवित परमेश्वरका सेवक, तिमीले निरन्तर सेवा गरेका तिम्रा परमेश्वरले तिमीलाई बचाउँन सक्नु भयो?” दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्! मेरो परमेश्वरले आफ्ना स्वर्गदूत पठाएर सिंहहरूको मुख बन्द गर्नु भयो। यसकारण सिंहहरूले मलाई नोक्सान गर्न सकेनन् किनभने मेरो परमेश्वर जान्नुहुन्छ कि म निर्दोष छु। हे महाराज! मैले तपाईंलाई कुनै अन्याय गरेको छैन।” त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्

दानिएल 6:13-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले राजालाई भने, “देशनिकालाबास भई यहूदाबाट आएको दानिएल भन्‍ने एक जना पुरुषले हजुरको आदर गर्दैनन् र हजुरको आदेश पालन गर्दैनन्। उनी नियमित दिनमा तीनपल्‍ट प्रार्थना गर्दछन्।” त्‍यो कुरा सुनेर राजा अन्‍योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्‍न खुब विचार गर्न लागे। घाम नअस्‍ताएसम्‍म उनले जुक्‍ति गरि नै रहे। त्‍यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्‍नुहुन्‍छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।” यसकारण राजाले दानिएललाई पक्रने हुकुम दिए र उनी सिंहको खोरमा फालिए। राजाले दानिएललाई भने, “तिमीले भक्तिसाथ पुजेका परमेश्‍वरले तिमीलाई बचाऊन्।” खोरको मुखमा एउटा ठूलो ढुङ्गा ल्‍याएर राखियो र राजाले आफ्‍नो लाल-मोहोर र शासकहरूको सिल-मोहोर कसैले दानिएललाई बचाउन नसक्‍ने हिसाबले त्‍यस ढुङ्गामा लाइदिए। त्‍यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्‍जन नगरी रातभरि जागा बसे। बिहान मिरमिरे उज्‍यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। त्‍यहाँ पुगेर राजाले चिन्‍तित भई भने, “ए दानिएल, जीवित परमेश्‍वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्‍वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्‍नुहुन्‍थ्‍यो र नै उहाँले त्‍यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्‍यन्‍तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्‍ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्‍वरमाथि भरोसा राखेका थिए।

शेयर गर्नुहोस्
दानिएल 6 पढ्नुहोस्