YouVersion लोगो
खोज आइकन

दानिएल 6:13-18

दानिएल 6:13-18 NNRV

तब उनीहरूले राजालाई भने, “हे महाराजा, यहूदाबाट देशनिकाला गरिएकाहरूमध्‍ये एक जना दानिएलले हजूरको वा हजूरले लिखित रूपमा जारी गर्नुभएको आदेशको वास्‍ता गर्दैनन्‌। उनी अझै पनि दिनमा तीन पल्‍ट प्रार्थना गर्दछन्‌।” जब राजाले यो कुरा सुने, उनी अत्‍यन्‍त दु:खित भए। दानिएललाई छुटकारा दिने उनले निर्णय गरे र तिनलाई बचाउन सूर्यास्‍तसम्‍मै हरप्रयास गरे। त्‍यसपछि ती मानिसहरू समूह भएर राजाकहाँ गए र उनलाई भने, “हे महाराजा, याद गर्नुहोस्‌ कि मादीहरू र फारसीहरूका ऐनबमोजिम राजाको कुनै पनि आदेश वा उर्दी बद्‌लन सकिँदैन।” यसकारण राजाले हुकुम दिए, र उनीहरूले दानिएललाई लिएर सिंहको खोरभित्र फालिदिए। राजाले दानिएललाई भने, “तिमीले निरन्‍तर सेवा गरेका तिम्रा परमेश्‍वरले तिमीलाई छुटकारा देऊन्!” खोरको मुखमा एउटा ढुङ्गा ल्‍याएर राखियो, र दानिएलको अवस्‍थामा कुनै परिवर्तन नहोस्‌ भनेर राजाले आफ्‍नो लालमोहर र उनका भारदारहरूका औँठीहरूको छाप लगाए। तब राजा आफ्‍नो दरबारमा फर्के र उनको सामु राखिएको खाना नखाई तथा कुनै मनोरञ्‍जनविना नै उनले त्‍यो रात बिताए। अनि उनलाई निद्रा लागेन।