YouVersion लोगो
खोज आइकन

दानिएल 1:8-17

दानिएल 1:8-17 NNRV

तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो, तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌। त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।” यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे। दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए। यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए।