यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्यसलाई घेरे। अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे। तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्येबाट राजकीय खानदान र सभ्य खानदानका केही जवान मानिसहरू छान्नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्दर, हरकिसिमका शिक्षा सिक्ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्न सक्ने र राजदरबारमा सेवा गर्नलाई योग्य हुनुपर्थ्यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्थ्यो। राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्म तालीम दिनुपर्थ्यो, र त्यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्यो। यीमध्ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्याह, मीशाएल र अजर्याह। प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो। तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो, तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्बन्धमा मलाई खटाउनुहुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” त्यसपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्म जाँच्नुहोस्। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्नुहोस् र तपाईंले देख्नुभएअनुसार आफ्ना दासहरूसँग व्यवहार गर्नुहोस्।” यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे। दश दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरूभन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए। यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्याए। राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए। राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्न सोध्थे, अधिराज्यभरका जादूगरी र मन्त्रतन्त्र गर्नेहरूभन्दा तिनीहरूलाई दश गुणा असल भेट्टाए। अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ रहे।
दानिएल 1 पढ्नुहोस्
सुन्नुहोस् दानिएल 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:1-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू