YouVersion लोगो
खोज आइकन

प्रेरित 9:21-43

प्रेरित 9:21-43 NNRV

तब सुन्‍नेहरू जति सबैले अचम्‍म मानेर भने, “यो नाउँ लिने जतिलाई यरूशलेममा संहार गर्ने र यहाँ पनि तिनीहरूलाई बाँधेर मुख्‍य पूजाहारीहरूकहाँ लैजाने अभिप्रायले आउने यही होइन र?” तर शाऊल अझ बढ़ी शक्तिशाली हुँदैगए, र येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने प्रमाण दिएर दमस्‍कसमा रहने यहूदीहरूलाई अकमक्‍क पारिदिए। अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे। तर तिनीहरूको षड्‌यन्‍त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्‍थे। तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए। तिनी यरूशलेममा आएपछि तिनले चेलाहरूसँग मिल्‍ने प्रयत्‍न गरे। तर तिनीहरूलाई उनी चेला हुन्‌ भन्‍ने पत्‍यार नहुँदा सबै तिनीसँग डराए। तर बारनाबासले तिनलाई साथमा लिएर प्रेरितहरूकहाँ लगे। अनि शाऊलले प्रभुलाई बाटोमा देखेका र प्रभु तिनीसँग बोल्‍नुभएको र तिनले दमस्‍कसमा साहससित येशूको नाउँमा प्रचार गरेका कुरा तिनीहरूलाई बताइदिए। शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्‍लमखुल्‍ला हिँड्‌न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे, अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे। तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। त्‍यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्‍डलीमा शान्‍ति भयो र मण्‍डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्‌दै र पवित्र आत्‍माको सान्‍त्‍वना पाएर मण्‍डलीमा वृद्धि हुँदैगयो। पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्‍तहरूकहाँ पनि आइपुगे। तिनले त्‍यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो। पत्रुसले त्‍यसलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्‍यो तुरुन्‍तै उठिहाल्‍यो। लुड्डा र शारोनमा बस्‍ने जति सबै जनाले त्‍यसलाई देखेर प्रभुतिर फर्के। योप्‍पा नगरमा तबीता, अर्थात्‌ डोरकास (हरिणी) भन्‍ने एउटी शिष्‍य थिइन्‌। तिनी असल काम गर्न र दान दिनमा लागिरहन्‍थिन्‌। ती दिनमा तिनी बिरामी भइन्‌ र तिनको मृत्‍यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्‍लो तलाको एउटा कोठामा राखे। लुड्डा योप्‍पाको नजिक भएको हुनाले, चेलाहरूले पत्रुस त्‍यहाँ छन्‌ भन्‍ने सुनेर तिनीकहाँ दुई जना मानिसलाई यस्‍तो बिन्‍ती गर्न पठाए, “हामीकहाँ ढिलो नगरी आउनुहोस्‌।” तब पत्रुस उठेर तिनीहरूसँग गए। त्‍यहाँ पुगेपछि तिनीहरूले तिनलाई माथिल्‍लो कोठामा लगे। विधवाहरू सबै तिनको नजिक उभिएर रुन लागे, र डोरकास तिनीहरूसँग हुँदा तिनले बनाइराखेका पोशाक र अरू वस्‍त्रहरू देखाए। तर पत्रुसले तिनीहरू सबैलाई बाहिर पठाएर घुँड़ा टेके अनि प्रार्थना गरे, र त्‍यस लाशतिर फर्केर भने, “तबीता, उठ!” अनि तिनले आँखा उघारिन्, र पत्रुसलाई देखी उठेर बसिन्‌। उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे। अब यो कुरा सारा योप्‍पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्‍वास गरे। अनि तिनी निकै दिनसम्‍म एक जना सिमोन भन्‍ने चर्मकारसँग योप्‍पामा बसे।

प्रेरित 9:21-43 को लागि भिडियो