“यसै बेला मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्ना पिताको घरमा पालिए। तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्नै छोरा तुल्याएर पालिन्। मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए।
“जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। आफ्ना जातभाइमध्ये एक जनामाथि अन्याय भइरहेको देखेर, तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। भोलिपल्ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ?’
“तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्यो? हिजो त्यस मिश्रीलाई मारेजस्तो तिमी मलाई पनि मार्न चाहन्छौ?’ यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे।
“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे। जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो, ‘म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्वर।’ मोशा काम्न लागे, र तिनले त्यतातिर हेर्नेसम्म आँट गरेनन्।
“तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ, त्यो पवित्र स्थान हो। मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’
“यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो। यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।
“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए।