प्रेरित 5:17-26

प्रेरित 5:17-26 NNRV

प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्‍थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए, र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्‍यालखानमा हालिदिए। तर प्रभुका एउटा दूतले राती झ्‍यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्‍याएर भने, “जाओ र मन्‍दिरमा खड़ा भएर यस जीवनका सारा सन्‍देश मानिसहरूलाई सुनाओ।” यो सुनेपछि तिनीहरू एकाबिहानै मन्‍दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात्‌ इस्राएलीहरूको सम्‍पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्‍यालखानबाट ल्‍याउन मानिसहरू पठाए। तर अधिकृतहरूले तिनीहरूलाई झ्‍यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए, “हामीले झ्‍यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्‍यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।” जब मन्‍दिरका कप्‍तान र मुख्‍य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्‍योलमा परे। तर कोही एक जनाले आएर तिनीहरूलाई भन्‍यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्‍यालखानमा राख्‍नुभएको थियो तिनीहरू मन्‍दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्‌।” तब अफिसरहरूका साथमा कप्‍तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्‍याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्‍लान्‌ भनी तिनीहरू डराए।

प्रेरित 5:17-26 को लागि भिडियो