त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए। यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो। तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एक जना ज्यानमारालाई छोडिदिने माग गर्नुभयो, र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं। उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो। अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्यसै गरे। उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ। परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ। मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ। यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’ “शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्। तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’ तपाईंहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिन भनी परमेश्वरले आफ्ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”
प्रेरित 3 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 3:11-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू