प्रेरित 3:11-26
प्रेरित 3:11-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए। यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो। तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एक जना ज्यानमारालाई छोडिदिने माग गर्नुभयो, र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं। उहाँको नाउँमाथि गरेको विश्वासले र उहाँकै नाउँले तपाईंहरूले देखेका र जानेका यस मानिसलाई बलियो तुल्यायो। येशूबाट पाएको विश्वासले यस मानिसलाई तपाईंहरू सबैका सामुन्ने पूरा निको पार्यो। अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्यसै गरे। उहाँका ख्रीष्टले दुःख भोग्नुपर्छ भनी परमेश्वरले सबै अगमवक्ताका मुखबाट भन्नुभएको अगमवाणी उहाँले यसरी पूरा गर्नुभयो। यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै नियुक्त गर्नुभएको ख्रीष्ट, अर्थात् येशूलाई पठाइदिनुहुन्छ। परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना हुने समय नआउञ्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ। मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्नुपर्छ। यसो हुनेछ, कि त्यस अगमवक्तालाई नसुन्ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्ट हुनेछ।’ “शमूएलदेखि लिएर त्यसपछिका सबै अगमवक्ताहरू जत्तिले बोलेका छन्, ती सबले यिनै दिनहरूको घोषणा गरेका छन्। तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्नुभयो, ‘तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।’ तपाईंहरू हरेकलाई आफ्नो दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिन भनी परमेश्वरले आफ्ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”
प्रेरित 3:11-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो भीख माग्नेले पत्रुस र यूहन्नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए। यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्चर्यचकित मान्नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्चर्यका साथ हेर्दै हुनुहुन्छ? अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो। तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो। तपाईंहरूले जीवनको सृष्टिकर्तालाई मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ। येशूको नाममा विश्वास गर्नाले नै तपाईंहरूले देख्नुभएको र चिन्नुभएको यो मानिस आज आफ्नै खुट्टामा उभिन सक्ने भएको छ। येशूको नाम र उहाँबाट आउने विश्वासका कारणले नै यो मानिस पूर्ण निको भयो, जुन कुरा तपाईंहरू देख्दैहुनुहुन्छ। “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो। तर परमेश्वरका ख्रीष्टले दुःख भोग्नुपर्नेछ भनी उहाँले सबै अगमवक्ताहरूद्वारा जसरी अगमवाणी गर्नुभएको थियो, त्यसरी नै उहाँले त्यसलाई पूरा गर्नुभयो। त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्। अनि उहाँले तपाईंहरूका उद्धारको निम्ति नियुक्त गरिनुभएका येशू, अर्थात् ख्रीष्टलाई पठाउनुहुनेछ। आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ। किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्नुपर्छ। उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’ “वास्तवमा, शमूएलदेखिका सबै अगमवक्ताहरूमध्ये, जोजतिले बोलेका छन्, ती सबैले यी दिनहरूमा भएका घटनाहरूका बारेमा अगमवाणी गरेका हुन्। तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’ जब परमेश्वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”
प्रेरित 3:11-26 पवित्र बाइबल (NERV)
त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे। जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ। अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं। “येशूमा विश्वास रहेकै कारण यो मानिस अहिले निको भयो। यस्तो हुन गएको कारण चाहिँ हामी येशूको शक्तिमा पूर्ण विश्वास राख्दछौ। येशूमा विश्वास भएको कारणले यो मानिस निको भएको छ। तिमीहरूले उसलाई देख्छौ अनि तिमीहरूले उसलाई चिन्छौ। “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्। परमेश्वरले सबै अगमवक्ताहरूको माध्यमद्वारा भनिसक्नु भएको थियो कि ख्रीष्ट पीडित हुनेछन् र मर्नेछन्। मैले तिमीहरूलाई भनेकोछु कसरी परमेश्वरले यी कुराहरू पूर्ण गर्नुभयो। यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। त्यसपछि प्रभुले तिमीहरूलाई आत्मिक विश्रामको समय दिनुहुनेछ। उहाँले येशूलाई पठानुहुनेछ, जसलाई उहाँले तिमीहरूका निम्ति ख्रीष्टको रुपमा चुन्नु भएकोछ। “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्नै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो। मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ। यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’ “शामूएल र सबै अन्य अगमवक्ताहरू जो उनी पछि आए परमेश्वरको निम्ति बोले अनि तिनीहरूले यो समयको बारेमा भने। तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’ परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”
प्रेरित 3:11-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यो निको भएको मानिस सोलोमन भन्ने दलानमा पत्रुस र यूहन्नाको पछि-पछि लागेको देखेर सबै अचम्म मान्दै दगुरेर आए। ती मानिसहरूलाई देखेर पत्रुसले भने, “हे इस्राएली दाजुभाइ हो, तपाईंहरू किन यस कुरामा अचम्म मानेर हामीलाई हेरिरहनुहुन्छ? के तपाईंहरूले हामीले यिनलाई आफ्नो शक्ति र भक्तिले नै हिँड्ने गराएका हौं भन्ने सम्झनुहुन्छ? त्यसो होइन, हाम्रा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले नै आफ्नो सेवक येशूलाई आदर गर्नुभयो। तपाईंहरूले चाहिँ येशूलाई मार्नुपर्छ भनेर सुम्पिदिनुभयो। पिलातसले उहाँलाई छोडिदिन खोज्दा पनि तपाईंहरूले नछोड्नू भन्नुभयो। उहाँ त पवित्र र निर्दोष हुनुहुन्थ्यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्यानमारालाई छोडिदिन माग गर्नुभयो। जीवन दिनुहुनेलाई चाहिँ तपाईंहरूले मार्नुभयो। तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। यस कुराको हामी साक्षी छौं। येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ। “हे मेरा दाजुभाइ हो, म जान्दछु, तपाईं र तपाईंहरूका शासकहरूले येशू को हुनुहुन्छ भनेर नचिनीकनै मार्नुभएको हो। ख्रीष्टले दु:ख भोग्नुपर्छ भनी परमेश्वरले धेरै अघिदेखि अगमवक्ताहरूद्वारा भन्नुभएको कुरालाई उहाँले यसरी पूरा गर्नुभयो। अब तपाईंहरू आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्वरबाट आत्मामा शान्ति र शक्ति पाउनुहुनेछ। परमेश्वरले तपाईंहरूका निम्ति चुन्नुभएको मुक्ति दिनुहुने राजा ख्रीष्टलाई फेरि पठाइदिनुहुनेछ। उहाँ त येशू नै हुनुहुन्छ। तर पवित्र अगमवक्ताहरूले भनेजस्तै परमेश्वरले सबै कुरा नयाँ बनाउने समय नआएसम्म येशू स्वर्गमै रहनुपर्छ। मोशाले पनि यसरी भनेका थिए– परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति तिमीहरूकै जातिबाट मजस्तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ, उहाँले भन्नुहुने सबै कुरा तिमीहरूले सुन्नुपर्छ। तर उहाँको कुरा नसुन्ने मानिसहरूचाहिँ परमेश्वरको जनहरूदेखि अलग पारिनेछन् र नाश हुनेछन्। “शमूएल र उनीपछिका सबै अगमवक्ताहरूले पनि हिजो-आज भइरहेका यिनै कुराहरूको बारेमा भनेका थिए। अगमवक्ताहरूद्वारा दिइएका परमेश्वरका प्रतिज्ञाहरू तपाईंहरूको निम्ति नै हुन् अनि परमेश्वरले तपाईंहरूका पिता-पुर्खाहरूसँग बाँध्नुभएको वाचा तपाईंहरूको लागि पनि हो। हाम्रा पुर्खा अब्राहामलाई परमेश्वरले ‘तिम्रो सन्तानद्वारा म पृथ्वीका सबै जातिहरूलाई आशिष् दिनेछु’ भनी भन्नुभएको थियो। तपाईंहरूलाई दुष्ट कामहरूबाट फर्काएर त्यो आशिष् दिन परमेश्वरले आफ्नो सेवक येशूलाई खटाई पहिला तपाईंहरूकहाँ नै पठाउनुभएको हो।”