YouVersion लोगो
खोज आइकन

प्रेरित 27:13-26

प्रेरित 27:13-26 NNRV

जब दक्षिणी बतास मन्‍द गतिले चल्‍न थाल्‍यो, तिनीहरूको उद्देश्‍य सिद्ध भयो भन्‍ने ठानेर, लङ्गर निकाली तिनीहरू क्रेटको किनार-किनार हुँदै यात्रा गर्न लागे। तर थोरै समयपछि त्‍यस टापूबाट प्रचण्‍ड आँधीको वेगमा उत्तर-पूर्वी कहलाइने तूफान चल्‍यो। जब जहाज आँधीको चपेटामा पर्‍यो, त्‍यसले तूफानको सामना गर्न सकेन, र हामीले त्‍यसलाई जता जान्‍छ जाओस्‌ भनेर छोडिदियौं। क्‍लौडा भन्‍ने एउटा सानो टापूको आड़मा पुगेपछि हामीले मुश्‍किलले जहाजको डुङ्गालाई जोगाउन सक्‍यौं। त्‍यसलाई माथि उठाएपछि तिनीहरूले केही उपायले जहाजलाई मुन्‍तिरबाट बाँध्‍दै ल्‍याए, र सिरटिस भन्‍ने बलौटे धापमा फसिन्‍छ भन्‍ने डरले तिनीहरूले पाल झारिदिए, र जहाज आफै बहन थाल्‍यो। अब आँधीले हामीहरूलाई ज्‍यादै उचाल्‍न र पछार्न थाल्‍यो, र भोलिपल्‍ट तिनीहरूले जहाजका मालसामान फ्‍याँक्‍न थाले। अनि तेस्रो दिन तिनीहरूले आफ्‍नै हातले जहाजका लठारा मिल्‍काइदिए। धेरै दिनसम्‍म घाम, तारा केही देख्‍न पाइएन। तूफान लगातार चलिरहेकोले अन्‍त्‍यमा बाँच्‍ने आशासमेत हामीले त्‍यागिदियौं। धेरै दिनसम्‍म तिनीहरू नखाई बसेका थिए। तब पावलले तिनीहरूकहाँ आएर भने, “मित्र हो, तपाईंहरूले मेरो सल्‍लाह मानेर क्रेटबाट जहाज नचलाउनुपर्ने थियो, र यस्‍तो सङ्कष्‍ट र हानि तपाईंहरूले खप्‍नुपर्ने थिएन। अब म भन्‍दछु, साहस गर्नुहोस्‌। तपाईंहरूमध्‍ये कसैको ज्‍यान जानेछैन, तर जहाजचाहिँ नष्‍ट हुनेछ। किनभने जुन परमेश्‍वरको म हुँ, र जसको आराधना म गर्दछु, उहाँका एक दूत आज राती मेरो छेउमा खड़ा भए। उनले मलाई भने, ‘पावल, नडराऊ, तिमी कैसरको सामु अवश्‍य खड़ा हुनुपर्छ, र हेर, तिमीसँग जहाजमा चढ्‌ने जति सबैका प्राण परमेश्‍वरले तिम्रो हातमा दिनुभएको छ।’ यसकारण मित्र हो, साहस गर्नुहोस्‌। म परमेश्‍वरमा विश्‍वास गर्छु, मलाई जस्‍तो बताइएको छ, ठीक त्‍यस्‍तै हुनेछ। तर हामीचाहिँ कुनै एउटा टापूमा बजारिनुपर्नेछ।”

Video for प्रेरित 27:13-26