दाऊदका मानिसहरू र योआबचाहिँ आफूसँग धेरै लूटका माल लिएर लूटपीटबाट फर्के। तर त्यस बेला अबनेरचाहिँ शान्तिसाथ बिदा भइसकेकाले उनी दाऊदसँग हेब्रोनमा थिएनन्। यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने। राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले। हजूरले नेरका छोरा अबनेरलाई चिन्नु नै भएको छ। उनी हजूरलाई छल गर्न, हजूरको चाल बुझ्न र हजूर के गर्दैहुनुहुन्छ सो जान्नलाई आएका थिए।” जब योआब दाऊदको सामुन्नेबाट निस्के, तब तिनले अबनेरको पछि समाचारवाहकहरूलाई पठाए, र तिनीहरूले अबनेरलाई सीराको इनारदेखि फर्काएर ल्याए। तर दाऊदलाई यो सब थाहा थिएन। अनि जब अबनेर हेब्रोनमा फर्के, तब योआबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुँमा मूल ढोकाको एकातिर गए, र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अबनेरलाई भुँड़ीमा घोचेर मारे। तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौं। योआब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस्। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्ने व्यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्।” यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे। तब दाऊदले योआब र तिनीसँग भएका सबै मानिसहरूलाई आ-आफ्नो लुगा च्यात्न, भाङ्ग्रा ओड्ने र अबनेरको अरथीको अगिअगि विलाप गर्दै हिँड्न भनी हुकुम गरे, र राजा आफैचाहिँ अरथीको पछिपछि हिँड़े। तिनीहरूले अबनेरलाई हेब्रोनमा गाड़े, र अबनेरको चिहानमा राजा साह्रै रोए। अनि सबै मानिसहरू पनि तिनीसँग रोए। राजाले अबनेरको निम्ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्यो? तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोड़ामा साङ्ला लागेका थिएनन्, तिमी त दुष्टहरूका हातमा परेझैँ ढल्यौ।” अनि मानिसहरू तिनको निम्ति फेरि रोए। तब तिनीहरूले दाऊदलाई अझै दिन बाँकी रहँदा केही खाऊन् भनेर मनाउनलाई आए, तर दाऊदले शपथ खाएर यसो भने, “सूर्यास्तअघि मैले कुनै किसिमले खानेकुरा छोएँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्।” मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। त्यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए। राजाले आफ्ना मानिसहरूलाई भने, “इस्राएलमा आजको दिन एक जना योद्धा, एक जना महान् पुरुष मरे भनी तिमीहरू जान्दैनौ? म अभिषिक्त राजा भए तापनि सरूयाहका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए। परमप्रभुले दुष्ट काम गर्नेलाई त्यसका योग्यको प्रतिफल देऊन्।”
२ शमूएल 3 पढ्नुहोस्
सुन्नुहोस् २ शमूएल 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: २ शमूएल 3:22-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू