YouVersion लोगो
खोज आइकन

२ शमूएल 20:4-13

२ शमूएल 20:4-13 NNRV

तब राजाले अमासालाई भने, “यहूदाका मानिसहरूलाई भेला गर, र तीन दिनभित्रै यहाँ मकहाँ तिमीसहित हाजिर गर।” तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्‍दा ज्‍यादै समय तिनलाई लाग्‍यो। दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरो शेबाले त हामीलाई अब्‍शालोमले भन्‍दा पनि ज्‍यादा दु:ख दिनेछ। तिम्रा मालिकका मानिसहरूलाई लगेर त्‍यसलाई पछिपछि खेद, नत्रता त्‍यसले कुनै पर्खाल भएको सहरलाई पायो भनेता त्‍यो हाम्रो हातबाट उम्‍केला।” यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्‌न यरूशलेमबाट हिँड़े। जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्‌न आए। त्‍यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्‍यसमाथि एउटा पटुका थियो, अनि त्‍यसमा म्‍यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्‍यो त्‍यसको म्‍यानबाट खस्‍यो। योआबले अमासालाई भने, “हे मेरा भाइ अमासा, तिमीलाई कुशलै होला।” अनि तिनले अमासालाई चुम्‍बन गर्नलाई तिनको दाहिने हातले अमासाको दाह्री समाते। अमासाले योआबको हातमा भएको छुरीको ख्‍यालै गरेनन्‌। अनि योआबले तिनको भुँड़ीमा त्‍यो रोपिदिए, र तिनको आन्‍द्रा-भुँड़ी भूइँमा झर्‍यो। तिनले दोस्रो पल्‍ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्‌दैगए। योआबका मानिसहरूमध्‍येको एक जनाले अमासाका लाशको छेउमा उभेर कराई भन्‍यो, “योआब र दाऊदतर्फ हुनेहरू सबैले योआबलाई पछ्याऊन्‌।” अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्‍यस मानिसले सबै फौज त्‍यहाँ अड़िएका देख्‍यो। जब त्‍यसले देख्‍यो कि अमासा भएको ठाउँमा आउने जति त्‍यहाँ अड़िन्‍थे, तब त्‍यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्‍स्‍याउँदै लगेर त्‍यहाँ फ्‍याँकिदियो, र त्‍यसलाई एउटा लुगाले ढाकिदियो। लाशलाई मूलबाटोदेखि घिस्‍स्‍याएर लगेपछि सबै मानिसहरू बिक्रीको छोरो शेबालाई खेद्‌न योआबको पछि लागे।