YouVersion लोगो
खोज आइकन

२ पत्रुस 3:10-18

२ पत्रुस 3:10-18 NNRV

तर प्रभुको दिन त चोरजस्‍तै गरी झट्टै आउनेछ, जसमा आकाशचाहिँ ठूलो आवाजसाथ बितिजानेछ, तत्त्वहरू आगोको रापले पग्‍लिनेछन्, र पृथ्‍वी र त्‍यसमा भएका सबै थोक भस्‍म हुनेछन्‌। यी सबै कुराहरू यसरी पग्‍लन्‍छन्‌ भन्‍ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्‍ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्‍वरको दिन प्रतीक्षा गर्दछौ, र त्‍यस दिनलाई नजिक ल्‍याउन चाहन्‍छौ, जुन दिन आकाशहरू जलेर भस्‍म हुनेछन्, र तत्त्वहरू आगोको रापमा पग्‍लनेछन्‌। तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्‍टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्‍तिमा बस्‍नेहरू हुन प्रयत्‍न गर। हाम्रा प्रभुको धैर्यलाई मुक्तिझैँ ठान। हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिइएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌। यसकारण प्रिय हो, अघिबाटै यी कुरा जानेर होशियार रहो, दुष्‍ट मानिसहरूको भूल कुरामा अलमलिएर आफ्‍नो स्‍थिरता नगुमाओ। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढ्‌दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्‌। आमेन।