YouVersion लोगो
खोज आइकन

२ राजाहरू 8:16-29

२ राजाहरू 8:16-29 NNRV

इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्‍य सुरु गरे। जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे। आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही तिनले गरे। तरै पनि आफ्‍ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्‍छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्‍तानहरूलाई सदासर्वदाको निम्‍ति बलिरहने एउटा दियो कायम राख्‍ने प्रतिज्ञा गर्नुभएको थियो। यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्‍नै राजा खड़ा गर्‍यो। यसैले यहोराम आफ्‍ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो। यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? तब यहोराम आफ्‍ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्‍याह राजा भए। इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न लागे। जब तिनी राजा भए तब अहज्‍याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्‌। अहज्‍याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्‍बन्‍ध आहाबको घरानासित थियो। अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्‍याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए। यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।