YouVersion लोगो
खोज आइकन

२ राजाहरू 8:16-29

२ राजाहरू 8:16-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

इस्राएलका राजा आहाबका छोरा योरामको पाँचौँ वर्षमा, जब यहोशापात यहूदाका राजा थिए, तब यहोशापातका छोरा यहोरामले यहूदाका राजा भएर राज्‍य सुरु गरे। जब तिनी राजा भए तब यहोराम बत्तीस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्‍य गरे। आहाबका घरानाले गरेझैँ तिनी इस्राएलका राजाहरूका चालमा हिँड़े, किनकि तिनले आहाबकी एउटी छोरीलाई विवाह गरे। परमप्रभुको दृष्‍टिमा जे कुरा खराब थियो त्‍यही तिनले गरे। तरै पनि आफ्‍ना दास दाऊदको खातिर परमप्रभुले यहूदालाई नाश गर्न इच्‍छा गर्नुभएन। उहाँले दाऊद र तिनका सन्‍तानहरूलाई सदासर्वदाको निम्‍ति बलिरहने एउटा दियो कायम राख्‍ने प्रतिज्ञा गर्नुभएको थियो। यहोरामको समयमा यहूदाको विरुद्धमा बागी भएर एदोमले आफ्‍नै राजा खड़ा गर्‍यो। यसैले यहोराम आफ्‍ना सबै रथहरू लिएर जाईरमा गए। एदोमीहरूले तिनी र तिनका रथहरूका सेनापतिहरूलाई घेरे, तर तिनी उठेर राती भागे। तापनि तिनका सेनाचाहिँ भागेर घर फर्के। एदोम आजको दिनसम्‍मै यहूदाको विरुद्धमा बागी भएको छ। लिब्‍ना पनि त्‍यसै बेला बागी भयो। यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? तब यहोराम आफ्‍ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्‍याह राजा भए। इस्राएलका राजा आहाबका छोरा योरामको बाह्रौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्‍याहले राज्‍य गर्न लागे। जब तिनी राजा भए तब अहज्‍याह बाईस वर्षका थिए, र तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ अतल्‍याह थियो। तिनी इस्राएलका राजा ओम्रीकी एउटी नातिनी थिइन्‌। अहज्‍याह आहाबको घरानाका चालहरूमा हिँड़े, अनि आहाबको घरानाले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्‍यही तिनले गरे, किनकि विवाहले गर्दा तिनको सम्‍बन्‍ध आहाबको घरानासित थियो। अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादमा लड़ाइँ गर्नलाई अहज्‍याह आहाबका छोरा योरामसित गए। तर अरामीहरूले योरामलाई घाइते बनाए। यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो।

शेयर गर्नुहोस्
२ राजाहरू 8 पढ्नुहोस्

२ राजाहरू 8:16-29 पवित्र बाइबल (NERV)

यहोशापातका छोरा योराम यहूदाका राजा थिए। योरामले आहाबका छोरा योराम इस्राएलका राजा हुँदा पाँचौ बर्ष शासन शुरू गरे। योराम 32 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा आठ बर्ष शासन गरे। तर योरामले इस्राएलका राजाहरू जस्तै शासन गरे अनि परमप्रभुले भूल भन्नुभएको कार्यहरू नै गरे। योरामले आहाबको परिवारका मानिसहरू जस्तै नै जीवन यापन गरे। योरामले यस्तै प्रकारले जीवन यापन गरे किनभने उनकी पत्नी आहाबकी छोरी थिइ। तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सधैँ नै राजा हुनेछ। योरामको समयमा एदोम यहूदाको शासनबाट छुट्टियो। एदोमका मानिसहरूले आफ्ना लागि राजा रोजे। तब योराम र उनका सबै रथहरू लिएर याईरमा गए। एदोमी सैनिकहरूले उनलाई घेरे। योराम र उनका अधिकारीहरूले तिनीहरूमाथि राती आक्रमण गरे। तर योरामका सबै सैनिकहरू भागे। यस प्रकार एदोमीहरू यहूदाको शासनबाट छुट्टिए अनि तिनीहरू आजसम्म यहूदाको शासनबाट स्वतन्त्र छन्। त्यसै समयमा लिब्नी पनि यहूदाको शासन बाट स्वतन्त्र भयो। योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए। आहाबका छोरा योराम इस्राएलका राजा भएको 12 औं बर्षमा योरामका छोरा अहज्याह यहूदाका राजा भए। अहज्याह 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले एक बर्ष यरूशलेममा शासन गरे। उनको आमाको नाउँ अतल्याह थियो। उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन्। अहज्याहले ती कार्य गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। अहज्याहले आहाब परिवारका मानिसहरू जस्तै धेरै भूल कामहरू गरे। अहज्याहले त्यस प्रकारले नै जीवन-यापन गरे किनभने उनकी पत्नी आहाब परिवारकी थिइन्। योराम आहाबको परिवारबाट आएको थियो। अहज्याह योरामसँग अरामका राजा हजाएलको विरूद्धमा युद्ध गर्न रामोत गिलाद गए। अरामीहरूले योरामलाई घाइते बनाए। राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस्। योराम यिज्रेलको इलाकामा गए। योरामका छोरा अहज्याह यहूदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिज्रेल गए।

शेयर गर्नुहोस्
२ राजाहरू 8 पढ्नुहोस्

२ राजाहरू 8:16-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इस्राएलका राजा आहाबको छोरो योरामको शासनकालको पाँचौं वर्षमा यहोशापातको छोरो यहोराम यहूदाका राजा भए। उनको उमेर बत्तीस वर्ष भएको थियो र उनले यरूशलेममा आठ वर्ष राज्‍य गरे। उनकी रानी आहाबकी छोरी थिइन् र आहाबका घरानाले जस्‍तै उनले इस्राएलका राजाका खराब चालहरू पछ्याए। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर परमप्रभुले यहूदालाई नाश पार्न चाहनुहुन्‍थ्‍यो किनभने उहाँले आफ्‍नो सेवक दाऊदलाई तेरा सन्‍तानले राज्‍य गरिरहनेछ भनी प्रतिज्ञा गर्नुभएको थियो। यहोरामका शासनकालमा एदोमले यहूदाको विरुद्धमा विद्रोह गर्‍यो र त्‍यो देश स्‍वतन्‍त्र भयो। यहोराम आफ्‍ना सबै रथ लिएर जाईरतर्फ लागे तर त्‍यहाँ एदोमीहरूले तिनीहरूलाई घेरे। राती उनी र उनका रथ-सेनाका सेनापतिहरू उम्‍के र भागे र उनका सिपाहीहरू छरपष्‍ट भएर आ-आफ्‍ना घरतिर लागे। त्‍यसपछि एदोम सदा यहूदाबाट स्‍वतन्‍त्र भई बसेको छ। यही समयमा लिब्‍ना सहरले पनि विद्रोह गर्‍यो। यहोरामले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। यहोराम मरे र दाऊदको सहरका राजाहरू गाड्‍ने चिहानमा गाडिए र उनको छोरो अहज्‍याह राजा भए। आहाबको छोरो योराम इस्राएलका राजा भएको बाह्र वर्ष हुँदा यहोरामको छोरो अहज्‍याह बाईस वर्षको उमेरमा यहूदाका राजा भए र उनले एक वर्ष यरूशलेममा राज्‍य गरे। इस्राएलका राजा ओम्रीकी नातिनी र आहाबकी छोरी अतल्‍याह तिनकी आमा थिइन्। आफ्‍नो विवाहको कारणले उनको आहाब राजासँग पारिवारिक सम्‍बन्‍ध थियो र आहाबका परिवारले झैँ उनले पनि परमप्रभुको विरुद्धमा पाप गरे। अहज्‍याह राजाले इस्राएलका राजा योरामलाई अरामका राजा हजाएलसित लडाइँ गर्न साथ दिए। रामोत-गिलादमा उनका सेनाहरूको युद्ध भयो र लडाइँमा योराम घाइते भए। घाउ निको पार्न उनी यिजरेल सहरमा फर्केर गए र अहज्‍याह उनलाई भेट्‍न त्‍यहाँ गए।

शेयर गर्नुहोस्
२ राजाहरू 8 पढ्नुहोस्