YouVersion लोगो
खोज आइकन

२ राजाहरू 21:1-18

२ राजाहरू 21:1-18 NNRV

जब मनश्‍शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हेप्‍सीबा थियो। इस्राएलीहरूका सामुन्‍नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्‍गा-अल्‍गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्‍ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्‍बा पनि बनाए। तिनले आकाशका सारा तारामण्‍डललाई घोप्‍टो परेर दण्‍डवत्‌ गरे। तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन मन्‍दिरको विषयमा परमप्रभुले भन्‍नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्‍नेछु।” परमप्रभुको मन्‍दिरका दुवै चोकमा तिनले आकाशका तारामण्‍डलको निम्‍ति वेदीहरू बनाए। तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए। आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्‍यस मन्‍दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्‍नुभएको थियो, “यस मन्‍दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्‍ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्‍नेछु। यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होशियारी गरे र मेरो दास मोशाले तिनीहरूलाई दिएका सारा व्‍यवस्‍था पालन गरे भने, मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिनेछैनँ।” तर मानिसहरूले ध्‍यानै दिएनन्‌। मनश्‍शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्‍ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्‍दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे। परमप्रभुले आफ्‍ना दास अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो: “यहूदाका राजा मनश्‍शेले यी घिनलाग्‍दा कामहरू गरेको छ। त्‍यसले आफ्‍ना अघि-अघिका एमोरीहरूले भन्‍दा ज्‍यादा घिनलाग्‍दा कामहरू गरेको छ, र आफ्‍ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ। यसकारण परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यरूशलेम र यहूदामाथि यस्‍तो सर्वनाश ल्‍याउनेछु, कि सुन्‍ने हरेकका कानमा त्‍यसको गुञ्‍जन हुनेछ। सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्‍नेछु। जसरी मानिसले थाल माझेर घोप्‍ट्याइराख्‍छ, त्‍यसरी नै म यरूशलेमलाई माझ्‍नेछु। मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्‍यागिदिनेछु, र तिनीहरूलाई आफ्‍नै शत्रुहरूका हातमा सुम्‍पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन्‌ र जबरदस्‍तसाथ खोसिनेछन्, किनभने तिनीहरूले मेरो दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्‍म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्‌। यसबाहेक मनश्‍शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्‍म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब छ, त्‍यही गरे। मनश्‍शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र? मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नै उज्‍जाको बगैँचामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आमोन राजा भए।