YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 9:1-8

२ कोरिन्थी 9:1-8 NNRV

सन्‍तहरूका निम्‍ति दिइएको भेटीको विषयमा तिमीहरूलाई लेखिरहन मलाई आवश्‍यक छैन। किनभने म तिमीहरूको तत्‍परता जान्‍दछु। यसको विषयमा माकेडोनियाका मानिसहरूका सामुन्‍ने तिमीहरूको गर्व गर्दै मैले भनेथें, कि पोहोर सालदेखि अखैया तयारी भइरहेको छ। तिमीहरूको जोशले तिनीहरूमध्‍ये धेरैजसोलाई उत्तेजित पारेको छ। तर यस विषयमा तिमीहरूका लागि हामीले गर्व गरेको व्‍यर्थ नहोस्, र मैले भनेअनुसार तिमीहरू तयार रहो भनेर म भाइहरूलाई पठाइरहेछु। यदि कोही माकेडोनियाकाहरू मसँग आए र तिमीहरूलाई तयार भेट्टाएनन्‌ भने हामी शर्ममा पर्नेछौं, र तिमीहरूलाई पनि कम्‍ती शर्म हुँदैन, किनभने हामीले तिमीहरूमाथि ठूलो भरोसा राखेका थियौं। यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्‍ध अघिबाटै मिलाउनका निम्‍ति मभन्‍दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्‍यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्‌। तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ। अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ। परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक।