YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 5:11-21

२ कोरिन्थी 5:11-21 NNRV

यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला। हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌। यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्‍वरको निम्‍ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्‍ति हो। ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे। उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो। यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं। यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो, अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ। यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ। किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।