YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 11:18-33

२ कोरिन्थी 11:18-33 NNRV

धेरैले सांसारिक कुराहरूमा घमण्‍ड गरेका हुनाले म पनि घमण्‍ड गर्दछु। तिमीहरू आफै यति बुद्धिमान्‌ भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्‍याउँछ, वा तिमीहरूलाई आफ्‍नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्‍पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। म लज्‍जित भएर स्‍वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्‍ड गर्छ भने, म पनि ती कुरामा घमण्‍ड गर्छु। हो, म मूर्खझैँ बोल्‍दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्‍तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रीष्‍टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्‍यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्‍ट परें। अनगिन्‍ती कोर्रा खाएँ। मृत्‍युको मुखमा बारम्‍बार परें। पाँच पल्‍ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। तीन पल्‍ट मलाई लौराले पिटे। एक पल्‍ट ढुङ्गाले हाने। तीन पल्‍ट म चढ़ेको जहाज ध्‍वस्‍त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्‍बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्‍नै जातिका मानिसहरूका जोखिममा, अन्‍यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्‍थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा। परिश्रममा र कष्‍टमा, कति-कति अनिदो रातमा, भोक र प्‍यासमा, बारम्‍बार उपवासमा, ठन्‍डी र नग्‍नतामा परें। अनि अरू कुराहरूबाहेक सबै मण्‍डलीहरूका फिक्रीको बोझ ममाथि छ। को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्‍याकुल हुँदिनँ? मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्‍नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। प्रभु येशूका परमेश्‍वर र पिता, जो सदासर्वदा धन्‍य हुनुहुन्‍छ, उहाँले जान्‍नुहुन्‍छ, कि म ढाँट्‌दिनँ। दमस्‍कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्‍कस सहरमा पहरा राखेका थिए। तर पर्खालको एउटा झ्‍यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्‍कें।