२ कोरिन्थी 11:18-33
२ कोरिन्थी 11:18-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। तिमीहरू आफै यति बुद्धिमान् भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। म लज्जित भएर स्वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने, म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्खझैँ बोल्दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रीष्टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्ट परें। अनगिन्ती कोर्रा खाएँ। मृत्युको मुखमा बारम्बार परें। पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। तीन पल्ट मलाई लौराले पिटे। एक पल्ट ढुङ्गाले हाने। तीन पल्ट म चढ़ेको जहाज ध्वस्त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा। परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परें। अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्याकुल हुँदिनँ? मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। प्रभु येशूका परमेश्वर र पिता, जो सदासर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ, कि म ढाँट्दिनँ। दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस सहरमा पहरा राखेका थिए। तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्कें।
२ कोरिन्थी 11:18-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि धेरैले संसारले जस्तै गर्व गरिरहेका हुनाले, म पनि त्यसरी नै गर्व गर्नेछु। तिमीहरू धेरै बुद्धिमानी भएका हुनाले खुशीसाथ मूर्खहरूलाई सहन्छौ! वास्तवमा तिमीहरूलाई सेवकहरू तुल्याउनेहरूलाई, अथवा तिमीहरूलाई शोषण गर्नेहरूलाई, अथवा तिमीहरूबाट फाइदा उठाउनेहरूलाई, अथवा तिमीहरूलाई घचेट्ने वा अनुहारमा थप्पड लाउनेहरूलाई पनि सहन्छौ। म लज्जित भएर यो स्वीकार गर्छु, कि यस्तो कामका लागि हामी अति नै कमजोर थियौँ। म मूर्खले झैँ बोलिरहेछु, कसैले जे कुरामा गर्व गर्छ, म पनि त्यही कुरामा गर्व गर्छु। के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ! के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ! के तिनीहरू अब्राहामका वंश हुन्? म पनि हुँ! के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म त झन् बढी हुँ (म पागलझैँ बोलिरहेको छु)। मैले अझ कठोर परिश्रम गरेको छु, म झन् घरी-घरी कैदमा परेको छु, झन् बढी कोर्राले पिटिएको छु, र बारम्बार मृत्युको मुखमा परेको छु। पाँच पल्ट मैले यहूदीहरूबाट एक कम चालीस कोर्रा खाएको छु। तीन पल्ट म लहुरोले पिटिएको छु; एक पल्ट ढुङ्गाले हानिएको छु, तीन पल्ट जहाजको दुर्घटनामा परेको छु; मैले एक रात एक दिन समुद्रमा नै बिताएको छु। म लगातार यात्रामा अगि बढिरहेको छु। म नदीहरूको जोखिममा परेँ, डाँकुहरूका जोखिममा, आफ्नै देशवासीहरूका जोखिममा, गैरयहूदीहरूका जोखिममा, सहरको जोखिममा, बिरानो भूमिको जोखिममा, समुद्रको जोखिममा र झूटा भाइहरूको जोखिममा परेको छु। मैले कठोर परिश्रम गरेको छु; म रातभरि नसुती बसेको छु; मैले भोक र तिर्खा जानेको छु, र धेरै पल्ट नखाई बसेको छु; मैले जाडो भोगेको छु र थोरै कपडामा पनि बसेको छु। यीबाहेक दिनहुँ सबै मण्डलीहरूको चिन्ताले थिचिएको हुन्छु। को कमजोर छैन, र म कमजोर महसुस नगरूँ? कोही पापमा पर्दा मचाहिँ व्याकुल हुँदिनँ र? यदि मैले गर्व गर्नुपर्छ भने म मेरा कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। सदासर्वदा प्रशंसा पाइरहनुपर्ने प्रभु येशूका परमेश्वर पिताले जान्नुहुन्छ, मैले झूट बोलिरहेको छैनँ। दमस्कसमा राजा अरितसका अधीनका हाकिमले मलाई पक्रनु भनेर दमस्कस सहरमा पहरा राखेका थिए। तर मलाई एउटा टोकरीमा राखेर पर्खालको झ्यालबाट तल झारिदिए र तिनको हातबाट उम्किएँ।
२ कोरिन्थी 11:18-33 पवित्र बाइबल (NERV)
धेरैले आफ्नो संसारिक जीवन बारे घमण्ड गर्छन्। यसर्थ म पनि घमण्ड गर्छु। तिमीहरू ज्ञानी छौ यसैले मूर्खको कुराहरू पनि सहन्छौ। यदि कसैले तिमीहरूलाई जबर्जस्ती गर्छ, शोषण गर्छ, अथवा तिमीहरूमाथि मौका लिन्छ अनि आफैं घमण्ड गर्छ अथवा गालामा थप्पड हिर्काए पनि म जान्दछु तिमीहरूले सहने छौ। तिमीहरूमाथि त्योस्तो व्यवहारमा म लज्जित हुन्छु, तर हामी अति “दुर्बल” छौं। तर यदि कसैले गर्व गर्ने साहस गर्छ भने म पनि हिम्मती हुन्छु र गर्व गर्छु। मूर्ख झैं बात गर्दैछु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन् र? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन् र? म पनि हुँ। तिनीहरू ख्रीष्टको सेवा गर्छन्? म अझ धेरै गर्छु। म पागल जस्तै बात गरिरहेको छु। तिनीहरूले भन्दा धैरै कठिन-कठिन कामहरू मैले गरेकोछु। म तिनीहरू भन्दा घेरै चोटी जेल भोगेको छु। मैले अझ घेरै कुटाई खाएको छु। धेरै पटक म झण्डै-झण्डै मरेको हुँ। मैले पाँच पल्ट यहूदीहरूबाट उनन्चालिस कोर्रा खाएको छु। तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ। मैले धेरै यात्रा गरिरहेकोछु। मलाई नदीहरूबाट, चोरहरूबाट, र मेरा आफ्नै मानिसहरूबाट र अयहूदीहरूको खतरा थियो। मलाई शहरमा, निर्जन ठाउँमा र समुद्रमा खतरा थियो। म आडम्बरी भाइहरूदेखि पनि खतरामा थिएँ। मैले कठोर र अथक परिश्रम कति रात नसुती गरेकोछु। म भोजन औ पानी बिनै बस्नु पर्थ्यो। धेरै जाडोमा काम्दै बस्नु पर्थ्यो। अनि अरू धेरै समस्याहरू थिए। यी सब बाहेक पनि मण्डलीहरूको लागि मैले हेरचाह गर्नु पर्थ्यो। प्रत्येक दिन तिनीहरूको विषयमा चिन्ता गर्छु। कसैलाई कमजोर देख्दा आफूलाई कमजोर भए जस्तो लाग्थ्यो। र कोही पापमा अघि सर्दा मेरो अन्तस्कारण पिरोलिन्थ्यो। यदि मैले गर्व के कुरा गर्नेपर्छ भने म ती कुराहरू गर्छु जुन मेरा दुर्बलताहरू हुन्। परमेश्वर जान्दछन् म असत्य बोलिरहेको छैन। उहाँ परमेश्वरहुनुहुन्छ र प्रभु येशू ख्रीष्टका पिता हुनु हुन्छ जो सदा धन्यवादका पात्र हुनुहुन्छ। जब म दमीशकमा थिएँ, राजा अरितसका राज्यपालले शहरका चारैतिर पालेहरू राखेर मलाई पक्रन खोजे। तर केही शाथीहरूले मलाई एउटा टोकरीमा हालेर पर्खालको दूलोबाट तल झारिदिए र म त्यस राज्यपालको हातबाट फुत्कें।
२ कोरिन्थी 11:18-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मान्छेको विचारले नै धेरै जनाले घमण्ड गर्दछन्। त्यसरी नै म पनि घमण्ड गर्दछु किनभने मूर्खहरूलाई खुसीसँग सहिदिने तिमीहरू ज्ञानी हौ। कसैले तिमीहरूलाई कमारै बनाए पनि, चुसे पनि, लुटे पनि, तिमीहरूको अघि धाक लाए पनि र मुखैमा हिर्काए पनि तिमीहरू सहन्छौ। हामीलाई त्यसो गर्न आएन भनेर म मानिलिन्छु, म लाज मान्छु। तर कसैले केही कुरामा घमण्ड गर्ने आँट गर्छ भने मलाई पनि आँट आउँछ। हुन त मूर्खले जस्तै नै कुरा म गर्दै छु। के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। तिनीहरू इस्राएली हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। के तिनीहरू ख्रीष्टका सेवकहरू हुन्? म बौलाएको जस्तो बोल्दछु, तर तिनीहरूभन्दा म अझ असल सेवक हुँ। तिनीहरूले भन्दा मैले झन् धेरै मेहनत गरेको छु। कैयौं पटक म कैदमा परें, कोर्रा खाएँ अनि धेरै पटक कालको मुखमा पनि परें। कोर्राको कुरा गर्दा पनि इस्राएलीको हातबाट पाँच पल्ट उनान्चालीस खेप मैले कोर्रा खाएर इस्राएलीहरूबाट ठूलो सजाय पाएँ। तीन पल्ट मैले रोमीहरूको हातबाट कोर्रा खाएँ। एक पल्ट त मानिसहरूले ममाथि ढुङ्गा वर्षाए। तीन पल्टसम्म म चढेको जहाज नै भत्केर आपत्मा परें अनि एक दिन र एक रात त मैले पूरै पानीमा बिताउनुपर्यो। मेरा धेरै यात्राहरूमा म झ्यालखानमा परें, डाकुहरूका हातमा परें, इस्राएली र अरू जातिका मानिसहरूबाट खतरामा परें। सहरमा, जङ्गलमा, समुद्रमा, नक्कली साथीहरूका बीचमा जताततै डरै-डर थियो। मैले नसुती-नसुती दिलोज्यानले काम गरें र धेरै पसिना बगाएँ। कैयौं पटक भोक-भोकै बसें, तिर्खा सहनुपर्यो। खानु र पिउनु त्यसै रह्यो। लुगाफाटा नभई जाडामा कक्रिएँ पनि। यति मात्रै दु:ख होइन तर परमेश्वरका मण्डलीहरूका चिन्ता-फिक्रीले पनि मलाई सधैँ सताइरहन्थ्यो। कोही निर्धो छ भने म पनि निर्धो हुन्थें। कोही पापमा फस्यो भने मेरो मन पोल्थ्यो। मैले घमण्ड गर्दा मेरो कमजोरी देखाउने कुराहरूमा नै म घमण्ड गर्दछु। म ढाँट्दिनँ भनेर त प्रभु येशूकै पिता सधैँभरिका पूज्य परमेश्वरलाई नै थाहा छ। म दमस्कसमा हुँदा मलाई पक्रनलाई अरितस राजाका बडा-हाकिमले घेर्न लगाए। तर एउटा पर्खालको झ्यालबाट मलाई डोकोमा राखेर भगाइदिए र म तिनको हातबाट उम्कें।