२ इतिहास 33
33
यहूदाका राजा मनश्शे
1मनश्शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्न वर्ष यरूशलेममा राज्य गरे। #२ राज २१:१-९ 2परमप्रभुले इस्राएलीहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरे। #यर १५:४ 3तिनका पिता हिजकियाले नाश गरेका डाँड़ाका थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताहरूका निम्ति वेदीहरू खड़ा गरे, अनि अशेरा देवीका मूर्तिहरू बनाए। तिनले आकाशका सारा तारामण्डलको सामु निहुरेर तिनलाई पुजे। 4तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन त्यस मन्दिरको विषयमा परमप्रभुले यसो भन्नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।” #२ इति ६:६ 5तिनले आकाशका सारा तारामण्डलको निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए। 6तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्त्रतन्त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।
7तिनले बनाउन लाएको मूर्ति परमेश्वरको मन्दिरभित्र राखे, जुन मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु। #१ राज ९:३-५; २ इति ७:१२-१८ 8यदि तिनीहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशाले तिनीहरूलाई दिएका सबै विधिविधान र नियमहरू होशियारसित पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूलाई म फेरि पर हटाउनेछैनँ।” 9तर परमप्रभुले इस्राएलको सामुन्ने नाश गरेका जातिहरूले भन्दा पनि धेरै खराबी गरेर मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई कुपथमा चलाए।
10मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले वास्ता गरेनन्। 11यसैकारण परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका सेनापतिहरू ल्याउनुभयो। उनीहरूले मनश्शेलाई पक्रे, तिनको नाकमा बल्छी लगाए, र तिनलाई काँसाका साङ्लाले बाँधेर बेबिलोनमा ल्याए। 12आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरको निगाह खोजे, अनि आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। 13जब तिनले प्रार्थना गरे, तब परमेश्वरले तिनको अर्ज-बिन्ती सुनेर तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। तब मनश्शेलाई परमप्रभु नै परमेश्वर हुनुहुँदोरहेछ भन्ने थाहा भयो।
14त्यसपछि तिनले गीहोन नदीको पश्चिमपट्टिदेखि ओफेल डाँड़ा घेरेर माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल फेरि बनाए। तिनले त्यो पर्खाल धेरै अल्गो बनाए। तिनले यहूदाका किल्ला भएका सबै सहरहरूमा सेनापतिहरू पनि खटाइदिए।
15तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र मन्दिरको डाँड़ा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदीहरू पनि हटाइदिए अनि तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए। 16त्यसपछि तिनले परमप्रभुको वेदी फेरि खड़ा गरेर त्यसमा मेलबलि र धन्यवाद बलि चढ़ाए, र यहूदालाई परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्नू भनी हुकुम दिए। 17तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्वरको निम्ति मात्रै चढ़ाए।
18मनश्शेको राजकालका अरू घटनाहरू, र तिनका परमेश्वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू इस्राएलका#33:18 अर्थात् यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। #२ राज २१:१७-१८ 19आफैलाई विनम्र तुल्याउन अघि तिनको प्रार्थना र परमेश्वरले कसरी तिनको अर्ज-बिन्ती ग्रहण गर्नुभयो, अनि तिनका सबै पाप र अविश्वासका काम, तिनले बनाएका डाँड़ाका थानहरू र अशेरा देवीका खम्बा र मूर्तिहरू— यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन्। 20मनश्शे आफ्ना पित्रहरूसित सुते, र आफ्नो महलमा गाड़िए। तिनीपछि तिनका छोरा अमोन राजा भए।
यहूदाका राजा अमोन
21राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। #२ राज २१:१९-२६ 22तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे। 23तर आफ्ना पिता मनश्शेले झैँ तिनले परमप्रभुको सामुन्ने आफैलाई विनम्र पारेनन्। तिनको अपराध झन् बढ़ी भयो।
24अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र तिनलाई तिनको आफ्नै महलमा मारे। 25तब देशका मानिसहरूले राजा अमोनको विरुद्धमा ती सबै षड्यन्त्र गर्नेहरूलाई मारे, र तिनको छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए।
अहिले सेलेक्ट गरिएको:
२ इतिहास 33: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012