YouVersion लोगो
खोज आइकन

२ इतिहास 29:25-30

२ इतिहास 29:25-30 NNRV

राजाले लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्‍याली, वीणा र सारङ्गीका साथमा आ-आफ्‍नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्‍ना अगमवक्ताहरूद्वारा दिइएको थियो। लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए। होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्‍तुतिगान पनि सुरु भयो। गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्‍डवत्‌ गरे। होमबलि खतम नहोउञ्‍जेल सबै काम यसरी नै निरन्‍तर भइरह्यो। बलिदान समाप्‍त भइसकेपछि राजा र तिनीसँग भएका सबै समुदायले घुँड़ा टेकेर दण्‍डवत्‌ गरे। राजा हिजकिया र तिनका अधिकारीहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए। यसरी तिनीहरूले साह्रै रमाहटसित उहाँको प्रशंसा गरे, र निहुरेर दण्‍डवत्‌ गरे।