वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूसँग भाइसमान व्यवहार गर। वृद्ध स्त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रतासाथ बहिनीसमान व्यवहार गर।
जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर। कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन् भने, तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ। तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्। तर यदि तिनी सुख-विलासमा मस्त रहन्छिन् भनेता तिनी जीवित भएर पनि मरेकी तुल्य हुन्। तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्। यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख। साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्। यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्। त्यसबाहेक तिनीहरू घर-घर डुल्ने भई अल्छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्। यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु, किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्। यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्। किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर। पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन्।