YouVersion लोगो
खोज आइकन

१ तिमोथी 5

5
विधवा, एल्डर, कमाराहरूबारे सरसल्‍लाह
1वृद्ध मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर। 2वृद्ध स्‍त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्‍पूर्ण पवित्रतासाथ बहिनीसमान व्‍यवहार गर।
3जो साँच्‍चै नै विधवा हुन्, तिनलाई आदर गर। 4कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ। 5तर जो साँच्‍चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्‍वरको आशा राख्‍तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्‍छिन्‌। 6तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जीवित भएर पनि मरेकी तुल्‍य हुन्‌। 7तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्‌। 8यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।
9साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख। 10साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।
11तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्‍टबाट टाढ़ा लान्‍छ, तब तिनीहरूले विवाह गर्ने इच्‍छा गर्छन्‌। 12यसरी आफ्‍नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्‍डमा पर्छन्‌। 13त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌। 14यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु, 15किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्‌। 16यदि विश्‍वासी स्‍त्रीका कोही आफन्‍तहरू विधवा छन्‌ भने तिनले उनीहरूलाई सघाऊन्, र मण्‍डलीमाथि कुनै बोझ नपरोस्, र मण्‍डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्‌।
17मण्‍डलीको असल रेखदेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌। 18किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”#व्‍य २५:४; मत्ती १०:१०; लूक १०:७
19दुई वा तीन साक्षीको गवाहीबाहेक एल्‍डरको विरुद्धमा लाएको आरोप कहिल्‍यै स्‍वीकार नगर।#व्‍य १७:६; १९:१५ 20पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।
21परमेश्‍वर र ख्रीष्‍ट येशूको सामु र चुनिएका स्‍वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्‍छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर। 22कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।
23अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
24कुनै-कुनै मानिसका पापहरू त सोझै इन्‍साफमा पुग्‍ने गरी प्रत्‍यक्ष हुन्‍छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्‌। 25त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्, र जो प्रत्‍यक्ष छैनन्, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌।

अहिले सेलेक्ट गरिएको:

१ तिमोथी 5: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्